वामदेव गौतम एमालेमै फर्कदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ २५,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने अभियान चलाउँदै आएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भई एमाले र माओवादी केन्द्र हुँदै पछि एकीकृत समाजवादीको गठन भए पनि गौतम भने कुनै पार्टीमा पनि संलग्न थिएनन् । विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने भन्दै उनले नेकपा एकता अभियान नै गठन गरे । गौतमको अभियान सफल नभए पनि उनको प्रयास भने निरन्तर जारी नै रह्यो । एमालेले अहिले पार्टीमा रहेको ‘७० वर्षे उमेर हद’ निष्कृय पार्ने निर्णय सार्वजनिक भएसँगै गौतम एमालेमा फर्किन तयार भएका हुन् । ‘वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन, महासचिव हुन जाने होइन,’ गौतमले भने, ‘पार्टीमा योगदान दिन जाने हो ।’ एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि विभिन्न चरणमा छलफल गरिसकेका गौतम अन्ततः एमालेमै फर्किने भएका हुन् । यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै पार्टीमा रहेको उमेर हदम्याद हटाउनुपर्ने माग गरेका थिए । एमालेका संस्थापकमध्येका एक मुकुन्द न्यौपाने एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किसकेका छन् । न्यौपानेलाई केन्द्रीय कमिटी सदस्य बनाउन सो उमेर हदम्याद बाधक भएपछि पार्टीले त्यस धारालाई विधान महाधिवेशनबाट हटाउने आन्तरिक सहमति सचिवालय बैठकमा गरेको थियो । न्यौपानेको व्यवस्थापन गर्न विधान संशोधन गर्दा गौतमको पनि माग पूरा हुने भएकाले उनी पार्टीमै फर्किने बताइएको छ । ‘यदि उहाँहरूले मलाई खबर गर्नुभयो, तपार्इंलाई अहिले पनि निलम्बन भएको छ, आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ, तपाईं आउनुप¥यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरू छन्, त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौं,’ गौतमले भने । ओलीको कार्यशैलीको विरोध गर्दै आएका गौतमले पार्टी विभाजनपश्चात् एमालेबाट राजीनामा बुझाएका थिए । गौतमले ७० वर्षे हट्नैपर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन् । ‘मेरो प्रस्ताव उमेरहद हट्नैपर्छ भन्ने थियो, उमेरहदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन,’ गौतमले भने, ‘यदि मलाई आउनुस् तपाईंलाई पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु ।’ बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले आफू एमालेमै फर्कन तयार रहेको बताए । एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष ओलीले बोलाए आफू एमालेमै फर्कने उनले बताएका थिए । उनले एमाले पार्टी ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने सर्त राखेका छन् । एमाले आफूले निर्माण गरेको पार्टी भएको बताउँदै गौतमले एमालेप्रति माया लाग्ने बताए । आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनको भनाइ छ । उनले केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्ने समेत बताएका छन् । एमालेको विधानमा ७० वर्षे उमेद हदम्याद राखेर ‘सबै तहका कार्यकारी कमिटीका पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिनेछैन’ भन्ने उल्लेख गरिएको छ । एमालेको २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुईपटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो । एमालेले पार्टी विधानको यही व्यवस्था विधान महाधिवेशनबाट हटाउने निर्णय गर्नेछ । गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा विधान महाधिवेशबाट उमेर हदसम्बन्धी व्यवस्था हटाउनेगरी हाललाई निलम्बन गर्न प्रस्ताव राखेका थिए । सचिवालय बैठकमा सो व्यवस्था हटाउने निर्णय गर्दै मुकुन्द न्यौपानेसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । ७२ वर्ष कटिसकेका न्यौपानेलाई सोही व्यवस्थाअनुसार केन्द्रीय सदस्यमा मनोनीत गर्न नमिल्ने भएकाले यो व्यवस्था नै निलम्बन गरिएको एक पदाधिकारीले बताए । बुटवल महाधिवेशनबाट मोदनाथ प्रश्रितले उमेर ढल्किदै गएपछि कार्यकारी पदमा बस्न नहुने भन्दै अवकाश लिएका थिए । त्यसैगरी, भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग्गिएका थिए । १०औं महाधिवेशनमा सत्यनारायण मण्डलसहितका नेताहरू ७० वर्ष प्रावधानका कारण पार्टीबाट बाहिरिएका थिए । नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले ‘म एकै क्लासमा दोहो-याएर पढ्ने विद्यार्थी होइन,’ भनेका थिए । तर, १०औं महाधिवेशनअघि उनले पार्टी विभाजनका साथै आफू र पार्टीमाथि चौतर्फी प्रहार भएकाले दोहो-याएर अध्यक्ष भएको बताए । २०७८ साल असोजमा ललितपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष पुग्नुअघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू नहुनेगरी व्याख्या गरेको थियो । त्यसै वर्षको मंसिरमा चितवनको सौराहामा भएको एमाले १०औं महाधिवेशनले ओलीलाई अध्यक्षमा दोस्रोपटक निर्वाचित गरेको थियो । ७० वर्ष पुग्नुभन्दा अघि नै कार्यकारी पदमा निर्वाचित भए पनि त्यो अर्को महाधिवेशनसम्म सोही पदमा रहेर काम गर्न पाउने व्यख्यासमेत गरियो ।