लम्पी स्किन रोगले थलिँदै चौपाया

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ८,

मुलुकमा सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ। यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ। यो रोगका कारण कोसी प्रदेशमा मात्रै १ सय ५० भन्दा बढी गाईको मृत्यु भएको छ। यसमा सबैभन्दा बढी इलामका किसान प्रभावित छन्। दुई महिनाकोबीचमा संक्रमणको रूपमा फैलिएको लम्पीको कारण कोसीका गाईपालक कृषकहरूले दुई करोडभन्दा बढीको पशुधन गुमाएका छन्। इलाम जिल्लामा मात्रै अहिले ३ हजार ५ सय ८ वटा गाई, बाच्छा–बाच्छीमा यसको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। भनिन्, ‘यो केही समय अघिको विवरण हो। अहिले अझै बढेको हुन सक्छ।’ इलाममा मात्रै अहिलेसम्ममा २७ वटा गाई, बाच्छाबाच्छी मरेका छन्। इलामका एउटै गाईको मूल्य दुई लाखसम्म पर्छ। जिल्लामै सबैभन्दा बढी प्रकोप रहेको सूर्योदय नगरपालिकामा मात्रै अहिलेसम्ममा २० वटा पशु मरिसकेका छन्। सूर्योदय नगरपालिकाको पशुशाखा प्रमुख विपिन सिंहले भने, ‘संक्रमणको अवस्था भयावह छ। हामी त्यही विषयमा छलफलमा छौं।’ सूर्योदयमा अहिले २ हजार गाईमा संक्रमण देखिएको सिंहले जानकारी दिए। चिकित्सकका अनुसार यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता कीराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुन्छ। त्यसैले गर्मी मौसम आएसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले जानकारी दिए। उनका अनुसार गर्मी क्षेत्रमा यसको प्रकोप बढ्दो क्रममा छ। संघीय सरकारले खोप अभियान चलाउन प्रदेश सरकारलाई अनुमति दिएको छैन। प्रदेश सरकारले विभागमा अनुमतिका लागि अनुरोध गरेको बताइएको छ। अहिलेसम्म यस रोगका विरुद्ध प्रयोग गरिने खोप बजारमा समेत नरहेको ढुंगानाले बताए। यो रोगको संक्रमण गण्डकी प्रदेशको नवलपुरमा बढी देखिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका पशु चिकित्सक राजेशकुमार चौधरीका अनुसार नवलपुरमा ६५२ गाई–भैंसीमा संक्रमण देखिएको छ। तीमध्ये १८ वटा गाई–भैंसी मरेको पनि उनले सुनाए। अहिले प्रदेश सरकारले लक्षण हेरेर रोकथामको उपचार गरिरहेको छ। प्रकोप बढेको इलामको १० वटै स्थानीय तहलाई बिहीबार एन्टिबायोटिक्स औषधि, गाईको शरीरमा आउने घाउको उपचारका लागि फिनेल, चार्मिल, पोटासियम पर्मानेन्टलगायतका औषधिहरू उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र झापाकी प्रमुख भट्टराईले जानकारी दिइन्। झापामा कात्तिक मंसिरमा प्रकोपका रूपमा देखिएको रोग अहिले अन्य जिल्लामा फैलिएको उनले बताइन्। नवलपरासीको ६ पालिकामा यो रोग बढी फैलिएको पनि उनले जनाए। उनका अनुसार ६ पालिकामध्ये मध्यबिन्दु नगरपालिका र विनयी त्रिविणी गाउँपालिकामा यो रोग बढी फैलिएको छ। यो रोग गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पनि देखिएको छ। स्याङ्जाको गल्याङमा संक्रमण देखिएको पशुचिकित्सक चौधरीले जानकारी दिए। पहिले भैंसीमा यो संक्रमण देखिँदैन थियो। पछिल्लो समयमा भैंसीमा पनि यो संक्रमण देखिएको डा. चौधरीले जानकारी दिए। मरेका १८ जनावरमा ९९ प्रतिशत गाई र एक प्रतिशत भैंसी रहेको पनि उनले बताए। फागुनदेखि नवलपुरमा यो संक्रमण देखिएको हो। यसअघि कास्कीको नागडाँडामा यो संक्रमण देखिएको थियो। अहिले पनि फाट्टफट्ट गाई भैंसीमा यो संक्रमण देखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका पशुचिकित्सक डा. गणेश केसीले जानकारी दिए। यसअघि नदेखिएका जिल्ला स्याङ्जा, पर्वत र बागलुङमा यसपटक केही गाई–भैंसीमा पहिलोपटक संक्रमण देखिएको पनि उनले बताए। गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्लाबाहेक अन्य जिल्लामा फट्टफट्ट यो संक्रमण देखिएको उनले जानकारी दिए। यो रोग जति गर्मी बढ्दै जान्छ त्यती फैलँदै जाने पनि उनले बताए।बागमती प्रदेशका तीन जिल्लामा यो रोगले महामारीको रूप लिएको छ। हालसम्म परीक्षण गरिएकामध्ये मकवानपुर, चितवन र सिन्धुली जिल्लामा यो रोगले महावारीको रूपमा फैलिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डा. ब्रज किशोर ठाकुरले बताए। हालसम्म मकवानपुरमा दुई सय, चितवनमा एक सय र सिन्धुली जिल्लामा ६० गरी तीन सय ६० वटा गाई–भैंसीमा यो रोग फैलिएको उनले बताए। ‘लम्पी स्किन’ रोगबाट जिल्लाका ४ पालिकामा करिब १ हजार गाईवस्तु प्रभावित भएका छन्। हेटौंडा, गढी, बकैया, मनहरी, कैलाशमा किसानले व्यावसायिक रूपमा गाई तथा भैंसीपालन गर्दै आएका छन्। यी पालिकामा गाईवस्तुको संख्या पनि धेरै छ। मकवानपुरगढीमा मात्रै ५० वटाभन्दा बढी गाईभैंसी फार्म सञ्चालनमा छन्। जिल्लाको मकवानपुरगढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ। मकवानपुरमा मात्रै हालसम्म पाँच वटा गाईवस्तुको मृत्यु भइसकेको निर्देशनालयको तथ्याङ्क छ। उनका अनुसार अधिकांश गाउँपालिकामा पशुचौपायमा लाग्ने ‘लम्पी स्किन’ रोग एकपछि अर्को किसानको गोठसम्म सर्दै गएको पाइएको हो। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हाल ६ सयभन्दा बढी गाईवस्तुको उपचार चलिरहेको निर्देशनालयले जनाएको छ। गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किन रोग देखापरेको उपचारमा संलग्न गाउँपालिकाका पशु शाखा प्रमुख सत्यनारायण साहले जानकारी दिए। यस्तै हेटौंडा उपमहानगरपालिकाका वडा नं १६, १९, ९, ११ म र मकवानपुरकै कैलाश गाउँपालिकाको वडा नम्बर ३, ७ र ८, मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा लम्पी स्किन रोग देखापरेको निर्देशक ठाकुरले बताए। सुदूरपश्चिममा लम्पी स्किन रोगले तीन सयभन्दा बढी गाई र बाच्छाबाच्छी मरेका छन्। पशु तथा भेटेरिनरी अस्पताल कैलालीका प्रमुख डा. हेमराज अवस्थीले कैलालीमा मात्रै एक सय बढी गाई मरिसकेका बताए। ‘कैलालीमा एक सयभन्दा बढी गाई मरिसकेका छन्। सुरुमा गाईको छालामा विविरा आउने, त्यसपछि पाक्ने, ज्वरो आउने र साना बाच्छाबाच्छी मर्ने गरेका छन्’, उनले भने। डोटीको जोरायल गाउँपालिकाका ४ वडामा मात्रै ५६ गाई लम्पी स्किनका कारण मरेका छन्। जोरायलमा रहेको पशु स्वास्थ्य शाखा प्रमुख मानबहादुर रानाले ४ वडामा ५६ गाई मरेको बताए। जोरायलमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट एक टोली नै जोरायलका लागि पठाइएको मन्त्रालयले जनाएको छ। उनका अनुसार स्थानीय जातको भन्दा पनि उन्नत जातको गाईमा यो रोगले बढी संक्रमण गरेको छ। कैलालीका १३ स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहमा यो रोग देखिएको छ। चुरे गाउँपालिकामा महामारीका रूपमा यो रोग फैलिएको डा. अवस्थीले बताए। सुदूरपश्चिमका ९ वटै जिल्लामा यो रोग देखा परेको छ। कैलालीबाहेक कञ्चनपुरका सबै स्थानीय तहमा यो रोग देखा परेको छ। डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा, दार्चुला र बैतडीमा पनि यो रोग देखा परेको छ। गाईको शरीरमा फोका आएको ४० दिनभित्रै मर्ने गरेको पशुविज्ञहरूले बताएका छन्। तर पशुस्वास्थ्य विज्ञहरू भने खोपको व्यवस्था नहुँदासम्म यो रोग नियन्त्रणमा नआउने बताउँछन्। ‘झिंगा, लामखुट्टेबाट पनि सर्ने भएकाले यसको निदान उपचारले मात्र सम्भव हुँदैन, काठमाडौंमा खोप पुगेको खबर आएको छ। पशुहरूलाई भ्याक्सिन लगाउने तयारी गरिरहेका छौं’, पशु तथा भेटेरेनरी अस्पताल कैलालीका प्रमुख डा. अवस्थीले भने। स्थानीय जातका गाईले कम दूध दिने भएकाले किसानले उन्नत जातका गाई पालेका थिए। बढीजसो उन्नत जातका गाईमा यो रोग देखिन थालेपछि किसानहरू चिन्तीत भएका छन्। डेरी पकेट क्षेत्रहरूमा चिकित्सकहरूको टोलीहरू परिचालन गरिएका छन्। लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण गाई–भैंसीहरूमा देखिन्छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार यस रोगमा मृत्युदर कम भए पनि यसले दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाझोपना सिर्जना गर्ने, छालाको गुणस्तर घटाउँछ। ‘यो रोग संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजनन योग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिंगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्छ,’ उनले भने, ‘यो रोग लागेका पशुहरूमा १०५.८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा १ देखि ५ सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखा पर्ने, सुपरफिसियल लिम्फनोडहरू सुन्निने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरिसमेत दुख्ने खालका गाँठोहरू देखिने, लंगडोपना, थुनेलो हुने र गर्भ तुहिनेजस्ता लक्षणहरू देखिन्छन्।’ यो रोगको संक्रमण भएपछि पशुले आँखाबाट कचेरा निकाल्ले, सिंगान बग्ने तथा फिज धेरै निकाल्ने पशु चिकित्सकहरू बताउँछन्। लामखुट्टे, झिंगा, कीरा आदिको टोकाइको माध्यमबाट फैलन सक्ने यो रोगबाट बचाउन गोठको सरसफाइमा ध्यान दिनुपर्छ। संक्रमित गाई–भैंसीको ढुवानी, आवातजावत र लसपलबाट जोगाउनुपर्छ।

Like