पहिलो विदेश भ्रमण भारत नै नेपालका प्रधानमन्त्रीहरुको किन ?
रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुन्छ । शपथ लिएकै दिनदेखि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कुन देशबाट सुरु होला भन्ने चर्चा हुन थाल्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई दिने क्रममा भारत भ्रमणका निम्तो दिएका थिए । प्रधानमन्त्रीमा शपथ लिएको भोलिपल्ट नै प्रधानमन्त्री प्रचण्डले एक भारतीय टेलिभिजन च्यानलमार्फत आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो विदेश भ्रमणका बारेमा पनि त्यस्तै चर्चा भइरहेको छ । पुस ११ प्रधानमन्त्री पदको शपथ लिएका उनले त्यस यता विदेश भ्रमण गरेका छैनन् । त्यो बेलादेखि प्रायः प्रत्येक दिन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको चर्चा हुने गरेको छ । उनी भारत भ्रमणमा जाने निश्चित भएको छ । वैशाखको अन्तिम सातादेखि जेठको पहिलो साता भित्रमा उनी भारत भ्रमणमा जाने तय भएको छ । २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यतिबेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो । तत्कालै प्रचण्डले प्रतिक्रिया दिँदै भनेका थिए, ‘ओलम्पिक खेलको समापन कार्यक्रममा सहभागी हुन चीन गएको हुनाले चीन भ्रमण अनौपचारिक हो, पहिलो औपचारिक भ्रमण भारत नै हुन्छ ।’ प्रचण्डलाई चीनले पनि भ्रमणको निम्तो दिएको थियो । चीनले बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई आफ्नो दूतावासमार्फत २०७९ फागुन ८ गते नै निम्तो दिएको थियो । तर, उनी सो कार्यक्रममा सहभागी हुन चीन गएनन् । तैपनि भारतले उनीप्रति आशंकाको दृष्टिले हेर्यो । नौ महिनापछि रुक्माङ्गत कटुवाल प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । राजीनामा दिँदै उनले भनेका थिए, ‘कुर्सीका लागि विदेशी प्रभु सामु झुक्ने छैन ।’ यसपटक पनि उनी भारत भ्रमणबाट फर्केपछि चीन भ्रमणमा जाने तयारीमा छन् । त्यसपछि प्रचण्ड २०७५ मा प्रधानमन्त्री हुँदा २०७५ भदौमा पहिलो विदेश भ्रमण भारतबाटै गरेका थिए तर त्यतिबेला पनि चीनले उनको पहिलो भ्रमण आफ्नो देशबाट गराउन खोजेको थियो । तर, प्रचण्डले २०६५ को जस्तो ‘जोखिम’ लिन चाहेनन् । उनले पहिले भारत भ्रमण गरे र लगत्तैै चीनको भ्रमण पनि गरे । त्यतिबेला उनले भारत र चीनलाई सन्तुलनमा राख्न प्रयास गरेका थिए । पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा २००७ सालबाट सुरु भएको थियो तर नेपालमा प्रजातन्त्रको स्थापनापछि बनेका प्रधानमन्त्री केआई सिंहले पनि भारतको भ्रमण गरेका थिएनन् । उनले आफ्नो कार्यकालमा विदेश भ्रमण नै गरेनन् । पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा २००७ सालबाट सुरु भएको थियो तर नेपालमा प्रजातन्त्रको स्थापनापछि बनेका प्रधानमन्त्री केआई सिंहले पनि भारतको भ्रमण गरेका थिएनन् । उनले आफ्नो कार्यकालमा विदेश भ्रमण नै गरेनन् । ०६५ प्रचण्डले आफ्नो पहिलो भ्रमण चीन गरेर भारतलाई चुनौती दिएका थिए । तर पछि उनले त्यसलाई सच्याउँदै पहिलो औपचारिक भ्रमण भारतलाई नै भनेका थिए । त्यसपछि बनेका प्रधानमन्त्री झलनाथ खनालबाहेक हालसम्मका सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै भएको छ । २०६७ मा प्रधानमन्त्री बनेका खनालको पहिलो विदेश भ्रमण कम्बोडियाबाट भएको थियो । प्रधानमन्त्री नियुक्त हुँदा खनाललाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पहिला बधाई दिए पनि खनालले प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणमा कम्बोडियालाई रोजेका थिए । त्यसपछि पनि उनी भारतको भ्रमणमा गएनन् । २०१५ मा मन्त्रिपरिषदको अध्यक्षको रुपमा सुर्वण शमशेरले पनि भारतको भ्रमण गरेका थिएनन् । त्यस्तै, पञ्चालयकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहले पनि भारतको भ्रमण गरेनन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि भारतको औपचारिक भ्रमण गरेका थिएनन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा भाग लिन कोइराला दिल्ली पुगेका थिए । त्यसलाई भारतको औपचारिक भ्रमणमा रुपमा लिइएको थिएन । त्यसपछि उनी भारत गएनन् । राणा शासन ढलेपछि बनेको पहिलो सरकारको प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारत भ्रमण गरेका थिए । त्यस्तै, प्रधानमन्त्री टंकप्रसाद आचार्य र बीपी कोइरालाले पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए । २०४८ को निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालले पनि भारतबाट आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । त्यसपछि बनेका प्रायः हरेक प्रधानमन्त्रीले विदेश भ्रमणको सुरुवात भारतबाटै गरेका छन् । २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि अन्तरिम सरकारको तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको थियो । नेपालको सबभन्दा नजिकको छिमेकी देश भारत हुनुका साथै भारतसँग प्रमुख व्यपारिक सम्बन्ध पनि छ । त्यो सम्बन्धलाई नेपालले बिगार्न नचाहेका कारणले पनि प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारतलाई नै बनाउने गरेको हुन सक्ने कुटनीतिज्ञहरुको बुझाई छ । परराष्ट्र विज्ञ कार्कीले भने, ‘पहिलो भ्रमण यो देश वा त्यो देश हुनुपर्छ भन्ने होइन, हाम्रो देशको आवश्यकता के छ, त्यो अनुसार गर्नुपर्छ । पहिलो विदेश भ्रमणका रुपमा भारत वा चीन भन्ने परम्परालाई तोड्नुपर्ने उनले बताए । परराष्ट्र विज्ञ टंक कार्कीका अनुसार तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई चीनबाट पनि निम्तो आएको थियो । उनले पहिलो विदेश भ्रमण चीनबाटै गर्ने सोच पनि बनाएका थिए तर भारतको दबाबपछि उनी चीन नगएर भारतको भ्रमणमा गएका थिए । ‘भारत ठूलो देश र नेपाल सानो देश भएर पनि होला, भारतले जहिले पनि नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण आफ्नो देशबाट गराउन चाहेको हुन्छ,’ उनले भने, ‘भारत र नेपालबीच आर्थिक र सामाजिक सम्बन्ध पनि अरु देशभन्दा फरक छ, त्यो हिसाबले पनि नेपालका प्रधानमन्त्रीको पहिलो रोजाई भारत पर्ने गरेको हुन सक्छ । तर यो ठिक होइन, यो परम्परालाई तोड्नुपर्छ ।’ पूर्व पराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीका अनुसार जो नजिकको छिमेकी हुन्छ, उसैकहाँ पहिला जानु स्वाभाविक रहेको बताउँछन् । उनले भने, ‘भारत नेपालको नजिकको छिमेकी हो, त्यही भएर पहिला भारत भ्रमणमा जानुलाई अन्यथा लिन हुँदैन ।’ नेपालको सबभन्दा नजिकको छिमेकी देश भारत हुनुका साथै भारतसँग प्रमुख व्यपारिक सम्बन्ध पनि छ । त्यो सम्बन्धलाई नेपालले बिगार्न नचाहेका कारणले पनि प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारतलाई नै बनाउने गरेको हुन सक्ने कुटनीतिज्ञहरुको बुझाई छ । नेपालको राजनीतिक इतिहास हेर्दा पहिलो विदेश भ्रमण भारतलाई नबनाउने प्रधानमन्त्रीको सरकार टिकाउ भएको पाइँदैन । त्यसैले पनि पहिलो विदेश भ्रमण भारतलाई नै बनाउनुमा राजनीतिक स्वार्थ पनि रहने गरेको कतिपयको बुझाई छ । जोसँग सबैभन्दा बढी घनिष्ठ सम्बन्ध हुन्छ, उसैकहाँ बढी आउजाउ हुनु स्वाभाविक भएको उनले बताए । ‘भारतसँग नेपालको घनिष्ठ सम्बन्ध छ,’ उनले भने, ‘नेपाल–भारतबीच घनिष्ठ सम्बन्ध भएकाले नै हाम्रा देशका प्रधानमन्त्रीहरु पहिला भारत जाने गर्नुभएको हो ।’ उनले जापानमा प्रधानमन्त्री बनेपछि पहिलो पहिलो विदेश भ्रमण प्रायः अमेरिकालाई बनाउने गरिएको उदाहरण पनि दिए । ‘अरु ठाउँमा पनि यस्तो देखिएको छ, जहाँ जोसँग राम्रो सम्बन्ध हुन्छ, जहाँ जोसँग नजिकको सम्बन्ध हुन्छ, त्यहीँ जान्छ,’ उनले भने, ‘भारतसँग नेपालको बहुआयामिक सम्बन्ध छ, यो सम्बन्धका कारण पनि भारतसँग निकटता भएको हो ।’