समाजवादी मोर्चा केही दिनमै बन्छ – प्रधानमन्त्री दाहाल

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २७,

मुलुकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रैमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताएका छन्। ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ।’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, “माओवादी धारका कम्युनिष्ट घटकबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरूपण तथा मेलमिलाप आयोगका माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। त्यसपछि केही दिनमा समाजवादी मोर्चा बन्छ।” समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल पनि माओवादीले नै लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, “एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीको एकताका पक्षमा छ। हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।” संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।” एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरूद्धमा रहेको उनको भनाइ छ। उनले भने, “नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्।” प्रधानमन्त्री दाहालले त्यस्तो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताए। माओवादी धार र सच्चा वामपन्थीको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री दाहालले नेता कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए। बैठकमा मधेस प्रदेशका केन्द्रीय सदस्य र शीर्ष नेताको सहभागिता थियो।

Like