२७ हिमाल आरोहणमा ९ सय ५३ आरोही, सगरमाथा आरोहणमा मात्र ३ सय १७ जनालाई अनुमति
रासंसा/काठमाण्डौ, बैशाख २६,
मुलुकमा कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि पर्वतारोहण क्षेत्रमा विदेशी आरोहीको आकर्षण थपिएको छ। विभिन्न हिमालको आरोहण गर्न जारी वसन्त ऋतुमा ९ सय ५३ जना आरोहीले स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा बढी आइतबारसम्म ३ सय १७ जना आरोहीले सगरमाथाका आरोहणको अनुमति पाएका छन्। ती मध्ये ७३ जना महिला र २४४ जना पुरुष रहेका छन्। पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न २७ वटा हिमाल आरोहणका लागि आरोहीले स्वीकृति पाएका छन्। सगरमाथा आरोहणका लागि मात्र ५८ मुलुकका आरोहीले अनुमति लिएको विभागका निर्देशक मोहनबहादुर जिसीले जानकारी दिए। सगरमाथा आरोहणको अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका ६५ जना, बेलायतका ३४, भारतका २३ र नेपालका २१ जना रहेका छन्। जिसीका अनुसार अहिलेसम्म ११८ समुहका ९ सय ५३ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन्। ती मध्ये ७ सय ४९ पुरुष र २ सय ४ जना महिला रहेका छन्। सगरमाथा आरोहणमा मात्र अहिले ४० वटा समुह रहेको विभागको भनाई छ। लोत्से आरोहीको १३ वटा समुहका १२७ जना आरोही छन्। त्यस्तै अमादब्लममा ९७ जना रहेका छन्। रुस र युक्रेन युद्धका कारण यूरोपियन मुलुकका पर्वतारोहीको आगमन कम हुने अनुमान गरिएपनि अहिले त्यो आगमन बढेको पर्यटन व्यवसायीले बताएका छन्। ‘कोरोनाले पर्यटन क्षेत्र थलिएको बेला ठुलो संख्यामा विदेशी आरोही आउनु नेपालको अर्थतन्त्रका लागि पनि सकारात्मक छ,’ उनले भने, ‘नेपालमा पर्यटन क्षेत्र पोष्ट कोभिड रिकभरको अवस्थामा रहेको यो आकर्षणले देखाउँछ।’ आरोहीको संख्या भित्रिँदा नेपालमा हिमाल आरोहण र अन्य पर्यटकीय गतिविधि पनि बढ्ने उनले बताए। हिमाल आरोहण गर्न जाने आरोहीबाट आइतबारसम्म ४७ करोड ४६ रुपैयाँ भन्दा बढी रोयल्टी पनि संकलन भएको छ। सबैभन्दा बढी सगरमाथाका आरोहीबाट मात्र ३९ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ। निर्देशक जिसीले मे महिनाको अन्तिम सम्म धेरैजसो आरोहण पुरा भईसक्ने बताए। उनका अनुसार सगरमाथा आरोहणका लागि मे महिना सबैभन्दा उत्तम समय मानिन्छ। अनुमति लिएको ७५ दिनभित्र आरोहण पुरा गरिसक्नुपर्ने उनले बताए। नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा पोहोरको तुलनामा अझै कम भएपनि अहिलेको आगमन सन्तोषजनक भएको बताउँछन। ‘अब अरु आरोही थपिने सम्भावना कम छ। तर, अबका दुईसाताभित्र अनुमति पाएजथि सबैले आरोहण पुरा गर्नुपर्छ,’ उनले भने। उनका अनुसार अघिल्लो वर्ष यो याममा मात्र सगरमाथाको ४ सय ७ जनाले आरोहण पुरा गरेका थिए। ‘विदेशी पर्यटक आउँदा नेपालको आर्थिक गतिविधिमा समेत वृद्धि गराउँछ। विदेशी मुद्रा सञ्चितीमा समेत टेवा पुुग्नेछ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिती कमजोर भएको अवस्थामा विदेशी आरोही आउँदा सकारात्मक सन्देश जान्छ। यसले पर्यटन क्षेत्रलाई पनि चलाउमान बनाउँछ। सगरमाथाको आगमन अनुपात औषत भएको उनले बताए। तर, अरु हिमाल आरोहणमा आएका आरोहीको संख्या भने यो वर्ष थपिएको लामाले बताए। ‘कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा चित्तबुभ्mदो अवस्था त भएको होईन, तर, रिभाइभ हुँदै गएको हो। पोहोर पनि राम्रो र सफल भएको मानिएको हो, यो पटक पनि आरोहण खुल्नासाथ एकाएक आरोही भित्रिए,’ उनले भने। ‘पोहोर भन्दा अहिले संख्यात्मक रुपमा कम छन्। कोरोना संक्रमणका कारण दुइवर्षसम्म रोकिएका आरोही पोहोर एकैपटक आउँदा धेरै देखिएका थिए। तर, यो वर्ष नियमित संख्यामा आरोही आएका छन,’केन्द्रीय अध्यक्ष लामाले भने, ‘नेपालमा विदेशी पर्यटक आगमन बढिरहेको छ। आरोहीको संख्यामा पनि सकारात्मक सुधार देखिएको छ।’ ‘पर्यटनका सबै गतिविधिका लागि यो बेला उपयुक्त मौसम पनि हो। मे भन्दा पछि विदेशी आरोही आउँदैनन। अरु यात्रा गर्ने विदेशी भित्रिन सक्छन, तर, आरोहणका गतिविधि सुस्ताउँछन,’ लामाले भने, ‘कोरोना अघिको आगमन हुन त अझै केही वर्ष लाग्छ। तर, नेपालको पर्यटन क्षेत्रले सोचभन्दा छिटो रिकभरको बाटो पहिल्याएको हाम्रो बुझाई छ।’ मौसमले साथ दिएमा अहिले आरोहणको पर्खाइमा बसेका आरोहीले अब छिटै आरोहण पुरा गर्ने उनले बताए। ‘बाटो फिक्स भइसकेको छ। मौसमले साथ दिएमा राम्रो हुन्छ,’ उनले भने, ‘पोष्ट कोभिड पछिको आगमनले हामीलाई उत्साही बनाएको छ।’ अरु मुलुकको तुलनामा नेपालमा कोरोना संक्रमण यो बेला करिब शुन्यमा झरेकोले पनि सबैखाले विदेशी आएको उनले बताए। त्यही संख्यामा पर्वतारोहण क्षेत्रमा पनि सकारात्मक सन्देश देखिएको उनले बताए।
