१३ विद्यार्थीको अभिभावक महतो बने
रासंसा/महोत्तरी, माघ २२,
महोत्तरी जिल्लाको गौशालास्थित श्री मावि निगौलमा अध्ययनरत १३ जना विद्यार्थीको अभिभावकत्व संरक्षणको जिम्मेवारी जनता समाजसेवी पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतोले लिएका छन् । सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत काजलकुमारी साह, शिवमकुमार साह, मोहम्मद लहेरी, अजमती खातुन लगायतका विद्यार्थीको शैक्षिक अभिभावकत्व संरक्षणको जिम्मेवारी नेता महतोले लिएका हुन् । प्रधानाध्यापक जितेन्द्रकुमार सिंहका अनुसार ती बालबालिकाको पठनपाठनको सम्पूर्ण जिम्मेवारी अब महतोको हुनेछ । बालबालिकाको अभिलेख नहुँदा उनीहरु हरेक सेवा सुविधाबाट बन्चित रहेको प्रधानाध्यापक सिंहले बताए । विद्यार्थीलाई पोशाकलगायत शैक्षिक सामग्री प्रदान गर्दै आफूले ती बालबालिकाको जिम्म्मेवारी लिएको नेता महतोले बताए । जन्मदर्ताविहीन विद्यार्थीको विद्यालयमा व्यक्तिगत अभिलेख राख्नका लागि असहज भएपछि आफूले उनीहरुको अभिभावकीय भूमिका निभाएको उनको भनाइ छ । ‘स्थानीय सरकारले भौतिक पूर्वाधारमा अधिकांश बजेट खर्चिदै आएको छ । जबकी शिक्षाबिनाको त्यो विकासको कुनै अर्थ छैन । तसर्थ सीपसहितको शैक्षिक क्रियाकलाप गर्नुपर्ने आवश्यक छ । डिग्रीवाला शिक्षा होइन, विश्वबजारमा विकाउ हुने शिक्षा प्रदान गर्नुपर्छ,’ उनले भने । अभिभावकत्व ग्रहण कार्यक्रममा मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले स्थानीय सरकारले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । संघीयतापछि देशमा स्थापित भएको स्थानीय सरकारमातहत रहेको शिक्षा, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो ।