आज भक्तपुरको विस्का जात्राको मुख्य ५५ हात लामो ल्योसिंद्य उठाइदै
रासंसा/भक्तपुर, चैत्र ३०
मुलुकमा आज भक्तपुरको विस्का जात्राको मुख्य आकर्षक दिनः ५५ हात लामो ल्योसिंद्य उठाइदै छ । भक्तपुरको विस्का जात्राको क्रममा आज सोमबार साँंझ ५५ हात लामो ल्योसिंद्य (लिंगो) उभ्याइँदैछ । यो आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको प्रमुख आकर्षण हो । जात्राको क्रममा जात्रा हेर्न जात्रास्थलमा हजारौ जात्राप्रेमीहरु सहभागी भएका हुन्छन् । भक्तपुरसहित मध्यपुर थिमि, बनेपा, काठमाडौं, ललितपुरलगायतका विभिन्न जिल्लाहरुबाट यो जात्रा हेर्न हजारौ उपस्थित रहेका हुन्छन् ।
प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई सयौं युवाहरुले डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ । यही नै जात्राका मुख्य आकर्षण हुन् । ठूलो ल्योसिंद्य अनि हजारौको भीड हुने भएकाले जात्राका क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी जात्रास्थल नजिकै दर्जन एम्वुलेन्सहरु पनि तयारी अवस्थामा राखिएका हुन्छन् । जात्राका क्रममा ल्योसिंद्य उठाउँंदै कुनै वर्ष भाँंचेर वा थोरै थोरै उभिएको ल्योसिंद्य पुनः ढलेर घाइते हुने सम्भावना हुन्छ । यही कारण घाइतेको उपचारका लागि एम्वुलेन्स तयारी अवस्थामा राखिएका हुन्छन् । ल्योसिंद्यलाई साँंझदेखि नै उभ्याउने प्रयास सुरु हुन्छ । ठूलो भएका कारण घण्टौंको प्रयासपछि राति मात्रै उभ्याउन सकेको हुन्छ । कुनै वर्ष त उभ्याउनै नसकेर भोलिपल्ट मात्रै उभ्याई भोलिपल्टै ढाल्ने पनि हुन्थ्यो । ल्योसिंद्य उभ्याउन सुरु गर्नु अघि दिउँसै परम्परा अनुसार ल्योसिंद्यमा डोरी बाध्ने गरिन्छ । गुठी संस्थान शाखा कार्यालय भक्तपुरले जात्राका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएको जनाएको छ । गुठीले बनाएको कार्यतालिका अनुसार जात्राको क्रममा विहान ८ बजेदेखि नै जात्राका कामहरु सुरु हुन्छन् । विहान आठ बजेभित्र भद्रकालीको पूजा सम्पन्न गर्ने कार्यतालिका छ । त्यसपछि क्रमशः विभिन्न पूजाआजा तथा विधिबाधन हुँंदै साँझ तीन बजे लिंगोमा डोरी राख्ने र पाँंचबजेबाट लिंगो उभ्याउन सुरु गर्ने योजना छ । प्रयोगबाट प्यागोडा शैलिमा बनाइने तीनतल्ले करिव ३५ फिट अग्लो भैरबनाथको रथलाई तानेर भक्तपुर नगरको पूर्व थने लाने गरिन्छ । साथै अन्तिम दिन वैशाख ५ गते पनि यही रथलाई नगरको पश्चिम क्वनेमा लाने गरिन्छ । योसँगै लामो जात्रा समापन हुने परम्परा रहेको छ । जात्रा चैत २७ गते शुक्रबारदेखि सुरु भएको थियो । भक्तपुरको न्यातापोल मन्दिर नजिकै राखेर बनाइएको भैरबनाथको रथ भैलखलाई तानेर जात्रा सुरु हुने परम्परा छ । प्रत्येक वर्ष नयाँं वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि र पछाडि गरी कुल आठ रात नौ दिन जात्रा चल्ने गर्दछ ।