गुलाफदेखि बलेको चिमसम्म चुनाव चिह्न, थरीथरीका नयाँ पार्टी
रासंसा/काठमाण्डौ, कार्तिक २९,
मुलुकमा जेनजी आन्दोलनपछि मुलुकमा नयाँ पार्टी खोल्ने क्रम जारी छ । पुराना पार्टीहरुले जनभावना अनुसार काम गर्न नसकेको भन्दै आयोगमा नयाँ पार्टी खोल्न निवेदन दिनेको लर्को नै लागेको छ । २८ वटा पार्टी दर्ता प्रक्रियामा रहेका छन् । दर्ता प्रक्रियाका लागि निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन् ।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेपछि पुराना केही दल पुनर्गठन गर्ने र नयाँ दल खोल्नेहरुको निर्वाचन आयोगमा घुइँचो लागेको छ । नयाँ निर्वाचन घोषणापछि आइतबारसम्म सातवटा दलले प्रमाणपत्र पाइसकेका छन् भने सातवटा दल खारेज भइसकेका छन् । आयोगले दिएको सूची अनुसार दर्ता प्रक्रियाको पहिलो नम्बरमा छ- ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुल्न लागेको उज्यालो नेपाल पार्टी । उक्त पार्टीमा कुलमानको नाम नरहेपनि उनकै अग्रसरतामा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर दल दर्ताका लागि निवेदन परेको छ । उज्यालो नेपाल पार्टीले चुनाव चिह्न बलेको चिम प्रस्ताव गरेको छ । त्यस्तै बाँसुरी चुनाव चिह्न प्रस्ताव गर्दै राजेश बस्नेतको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपाने प्रमुख रहेको नेपाल लिबरल पार्टी पनि दर्ता प्रक्रियामै रहेको छ । उक्त पार्टीको चुनाव चिह्न सिक्का प्रस्ताव गरिएको छ । त्यस्तै हीराप्रसाद सोतीले राष्ट्रिय जेनजी पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका छन् । सोतीको पार्टीले क्रस खुकुरी चुनाव चिह्न प्रस्ताव गरेको छ । १० वर्षे जनयुद्ध गरेका नेत्रविक्रम चन्द महासचिव रहेको नेकपाको चुनाव चिह्न गुलाफ रहेको छ । विप्लवले यसअघि संसदीय राजनीति नगर्ने भन्दै आएपनि उनी अन्तत: यही व्यवस्था अनुसारको चुनावी प्रक्रियामा सहभागी हुन लागेका हुन् । त्यस्तै सामाजिक अभियन्ता खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपालले गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिह्न माग गरेर निवेदन दिएको छ । हिमालयबहादुर चन्दले नेपाल राष्ट्रिय युवा पार्टी दर्ताका निवेदन दिएका छन् ।रत्नप्रसाद श्रेष्ठ नेतृत्वको नागरिक सर्वोच्चता पार्टीले मुट्ठीमा धानको बाला चुनाव चिह्न, रियाद अहम्मद शेप नेतृत्वको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतिको नेतृत्वमा (नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), सुन्दरराम बोहराको नेतृत्वमा आवाज पार्टी, गणेशकुमार मण्डलको नेतृत्वमा सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नेतृत्वमा नागरिक बचाउ दल दर्ताका लागि निवेदन परेको छ । नागरिक बचाउ दलको संरक्षकमा दुर्गा प्रसाईं रहेको बताइएको छ । त्यस्तै, अकबर खानको नेतृत्वमा राष्ट्र निर्माण दल, रमणुकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी, प्रशान्त सिंहको नेतृत्वमा पिपुल फ्रन्ट पार्टी, प्रशान्त आचार्यको नेतृत्वमा नेपाली प्रथम पार्टी, अशोककुमार यादवको नेतृत्वमा जनता लोकतान्त्रिक पार्टी, सन्दीप उप्रेतीको नेतृत्वमा राष्ट्रिय स्वाभिमान पार्टी, नुमा लिम्बुको नेतृत्वमा समावेशी, समाजवादी पार्टी, टीकाराम पुरीको नेतृत्वमा राष्ट्रिय गौरव पार्टी आयोगमा दर्ता हुने प्रक्रियामा छन् । त्यस्तै जीवन लिम्बुको नेतृत्वमा एकता नेपाल, किशोरी कार्कीको नेतृत्वमा नवनिर्माण पार्टी र दीपककुमार साहको नेतृत्वमा सर्वोदय पार्टी दर्ता प्रक्रियामा छन् । कार्की जेनजी अगुवा हुन् भने साहले जनमत पार्टीबाट फुटेर अलग पार्टी गठन गर्न लागेका हुन् । यस्तै योगेन्द्र मण्डलको नेतृत्वमा राष्ट्रिय ऊर्जाशील पार्टीले चापाकल चुनाव चिह्न मागेको छ भने चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टीले फलेको केराको बोट चुनाव चिह्न प्रस्ताव गरेको छ । सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टीले बिरुवा चुनाव चिह्न प्रस्ताव गरेको छ । यो पार्टी पूर्व माओवादी केन्द्रका नेता सुदन किरातीसहितको समर्थनमा दर्ता भएको बताइएको छ । दर्ता प्रक्रियामा रहेका कतिपय पार्टीमा नाम चलेका नेताहरुको समेत साथ र समर्थन रहेपनि तत्काल उनीहरुको नाम खुलाइएको छैन ।