महतोलाई कालोझण्डा, ‘नो केबलकार’ समूहको दिनहुँ प्रदर्शन र कोणसभा, पाथीभरा विवाद

Share to:

रासंसा/ताप्लेजुङ, फाल्गुण १०,

मुलुकमा मुक्कुमलुङ(पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिवार फुङलिङमा एउटा समूहले कालो झन्डा देखाएको छ । शनिवार फुङलिङस्थित होटेल प्यारिज आसपास महतोलाई कालोझण्डा देखाइएको हो । ‘नो केबलकार पक्ष’ले भने केबलकार निर्माण कार्यको प्रतिरोधमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । फागुन ६ देखि ८ गते सम्म पाथीभरा क्षेत्रमा मुक्कुमलुङ पदयात्रा आयोजना गरेको थियो । महतो बिहीबार(८गते) उक्त पदयात्रामा सहभागी भएका थिए । उनी त्यसपछि पाथीभरा मुक्कुमलुङ क्षेत्रमै थिए । महतोलाई उक्त समूहले ‘विकास विरोधी’को आरोप लगाएको छ । शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका घटना गराउन उक्साउने व्यक्ति भन्दै महतोलाई कालोझण्डा देखाएको उक्त समूहले जनाएको छ। कालोझण्डा देखाउनेमा अधिकांश महिला थिए । पाथीभरा क्षेत्रबाट फुङलिङ फर्कने क्रममा कालोझण्डा देखाएका हुन् । महतो गाडीमा सवार थिए, गाडी नरोकिइकन अघि बढेको थियो । बिहीबार केवलकारको निर्माणाधीन बेस स्टेसन नजिकै सुरक्षाकर्मी र ‘नो केबलकार पक्ष’बिच झडप समेत भएको थियो । काफ्ले पाटी क्षेत्रमा ‘नो केबलकार पक्ष’ले दिनहुँ जसो प्रदर्शन र कोणसभा गरिरहेका छन् । उनीहरूले मुक्कुमलुङ(पाथीभरा)आफ्नो प्रमुख मुन्धुमीस्थल भएकोले यसलाई सांस्कृतिक र प्राकृतिक रूपमा यथास्थानमै राख्नुपर्ने भन्दै त्यहाँ केबलकार निर्माण गर्न नहुने अडानका साथ आन्दोलन गर्दै आइरहेका छन् ।

Like