रविको ‘हिरासत तस्बिर’ खिच्ने डा. निकोलस भुसाल पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, पौष ०७,

मुलुकमा कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन्। उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए। गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए। भुसालले तस्बिर फेसबुकमा पोस्ट गरेपछि रास्वपाका कार्यकर्ताले त्यसलाई भाइरल बनाएको दाबी गरेका छन्। ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन। गल्ती भयो,’ उनले स्वीकार गर्दै फेसबुक लाइभ मार्फत् भनेका थिए। कास्की प्रहरीले लामिछाने पक्राउ परेपछि कार्यालयमा मोबाइल लैजान रोक लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएका थिए। पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने एसएसपी भट्टराईले बताएका छन्। फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए। त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो।

Like