पर्सामा सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी
रासना/काठमाण्डौ, मार्ग १९,
मुलुकमा पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको’bout अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबी, छवि, रवि र कुमार रम्तेल हुन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको हो। ‘हामीले पक्राउ अनुमति मागेकोमा आज अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने। लामिछानेसहित जोशी र खनाल हिरासतमा छन्। लामिछानेसँग चितवन जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ। जिबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिएको छ। अब उनीहरूलाई पर्सा लगिने छ।