आज वैश्णवहरूको अजा एकादशी व्रत, विश्व बेपत्ता विरुद्धको दिवस
रासंसा/काठमाण्डौ, भाद्र १४,
वैश्णवहरूको अजा एकादशी व्रत
अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ । वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्। वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ । स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ। स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ। अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ । भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए । सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए । राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
विश्व बेपत्ता विरुद्धको दिवस
जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइन्छ। विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि दशकौँ लामो द्वन्द्वका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्यायको उद्घाटन हुन नसक्नु असाध्यै दुक्खदायी छ । अन्तर्राष्ट्रियरुपमा मानव अधिकारमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् । २१ डिसेम्बर सन् २०१० मा, संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्ताव ६५ र २०९ मार्फत विश्वका विभिन्न क्षेत्रहरूमा गिरफ्तारी, नजरबन्द र अपहरण सहित लागू वा अनैच्छिक बेपत्ताको वृद्धिको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता, र बेपत्ता भएका साक्षी वा बेपत्ता व्यक्तिका आफन्तहरूलाई उत्पीडन, दुर्व्यवहार र धम्की दिने रिपोर्टहरूप्रति जबाफदेहिता बढाउने अभिप्रायले यस दिवसको श्रीगणेश गरेको हो । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभाको प्रस्ताव नं।४७÷१३३ मार्फत १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभाको प्रस्ताव नं ६१र१७७ द्वारा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।