गृहमन्त्रीलाई फोन गरेर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृतलाई‘ तत्काल थुन्नुपर्यो’ भने
रासंसा/काठमाण्डौ, पौष १९,
मुलुकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) प्रमुख प्रशासकीय अधिकृतप्रति क्रुद्ध बनेका छन् । कार्यपालिकाका निर्णय प्रमाणीकरणमा ‘किर्ते’ गरेको भन्दै मेयर बालेनले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई फोन गरेर प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई तत्काल थुनी कारबाही गर्न भनेका हुन् । प्रक्रियागत रूपमा जाँदा कर्मचारीले बदमासी नै गरेको हो भने स्थानीय तहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउन सक्ने र आयोगले छानबिन गरी मुद्धा दायर गर्न सक्ने विषयमा कर्मचारीले मन्त्रीलाई जानकारी दिएका थिए । ‘पब्लिकको हकमा पुलिसले अनुसन्धान गरेर मुद्धा दायर गर्ने भए पनि कर्मचारी हकमा भने अख्तियारमार्फत नै जाने विषय जानकारी गराइएको’ ती स्रोतले बताए । मेयर बालेनको तारनतारको फोनपछि गृहमन्त्री श्रेष्ठले यसबारे मन्त्रालयमा छलफलसमेत गरेका छन् । ‘के हो प्रक्रिया ? भन्ने विषयमा गृहमन्त्रीज्यूले छलफल गर्नु भएको थियो’, प्रशासन सिंहदरवार खास स्रोतले भन्यो, ‘ पक्राउ पुर्जी नलिई पक्राउ गर्न नपाइने व्यवस्था बारे मन्त्रीज्यूलाई कर्मचारीले सुझाएका थिए’। मेयर साहका स्वकीय सचिव भूपदेव साहले कानुनी प्रक्रिया शुरु गर्दै गर्दा त्यसका जति पनि प्रावधानहरू हुन्छन् त्यो विषयका बारेमा कुरा हुनु स्वभाविक भएको बताए । ‘जे जे विकल्पहरू हुन्छन् सबैतिर हेर्नुपर्छ’ साहले भने ‘यो स्वभाविक कुरा हो’ । यसअघि पनि आन्तरिक रूपमा लिखित तथा मौखिक रूपमा सचेत गराउने गरिँदै आएकोले अहिलेको विषयलाई पनि सुशासन कायम गराउने कार्यकै निरन्तरता भएको उनको भनाई छ । उनले आज दुई चार जनाको विषय मात्रै उठेको र भोलीका दिन गलत आचरणका दुई–चार जना व्यक्ति नै कारवाहीमा परे भने पनि त्यो अन्यथा हुने छैन । तर असल नियतले काम गरेका कर्मचारीले भने डराउन नपर्ने पनि उनले बताए । ‘तपाईँले राम्रो गरिरहनु भएको छ भने डराउनु परेन’ साहले भने, ‘तर त्यो बाहेकको खण्डमा जिरो टोलरेन्स नै हो’
के हो घटना ?
कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा निर्णय प्रमाणीकरण गर्दा छ जना उल्लेख गरेको भेटिएसँगै मेयर बालेनले ‘कसरी यस्तो भयो ?’ भन्दै एक्सन लिएका थिए । महानगर स्रोतका आनुशार डु मोन्ड फ्रान्सको आर्थिक सहयोगमा चलिरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको लागि भएको सम्झौता समाप्त भएसँगै सेवालाई निरन्तरता दिन ३० असोजमा बसेको कार्यपालिका बैठकले पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो तर निर्णय लेखिँदा संख्या थप भएको भेटिएसँगै मेयर बालेनले छानबिन थालेका थिए । संख्या थप्दा वरिष्ठ शाखा अधिकृत बिडारीले आफ्नी छोरीको नाम उल्लेख गरी छ जना बनाएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि हात रहेको आरोप छ । यसबारे अधिकारीसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । लामो अवधि बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग मेयर साह यसरी रिसाउनुको कारण यौटा यही मात्र घटना नभई अरु पनि केही गल्ती भेटाएको हुन सक्ने महानगर स्रोत बताउँछ । सबैभन्दा बढी विश्वास गर्ने आफ्नै सचिवालयका अधिकारीलाईसमेत नछोडेका साह कहीँ कतैबाट कुनै कमजोरी नहोस् भन्नेमा सजग रहेको पनि उनको भनाई छ ।