च्याउ प्रतिकेजी ९० रुपैयाँ लगानी, ५० मा बिक्री
रासंसा/काठमाण्डौ, पौष १९,
मुलुकमा नेपालमा च्याउको उत्पादन र उपभोग बढे पनि बजार सन्तोषजनक नरहेको व्यवसायीहरु गुनासो गर्छन् । च्याउ खेतीमा लगानी, अनुसन्धान, बजार व्यवस्थापन हुन नसकेको, च्याउको महत्त्व बुझाउन नसकिएको लगायतका कारणले बजार सन्तोषजनक हुन नसकेको उनीहरुको भनाइ छ । च्याउ उत्पादन किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले च्याउ उत्पादन लागत प्रतिकिलो ९० रुपैयाँ लाग्ने बताए । तर प्रतिकिलो ५० रुपैयाँका दरले होलसेलमा बिक्री गर्नु परेको उनी बताउँछन् । ‘उत्पादन लागत प्रतिकिलो ९० रुपैयाँ पर्छ,’ अध्यक्ष कार्कीले भने, ‘किसानले घाटा खाएर ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्छन्, उपभोक्ताले महँगोमा किनेर खान्छन् । उत्पादनकर्ता र उपभोगकर्ताबिच धेरै फरक छ ।’ नेपालमा च्याउ उत्पादन प्रशस्त भए पनि बजार अभावका कारण व्यवसाय फस्टाउन नसकेको उनको गुनासो छ । ‘अहिले नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ,’ उनले भने, ‘४० जिल्लामा व्यावसायिक रुपमै च्याउ खेती भइरहेको छ, तर च्याउको बजार छैन । च्याउ खान सबैले जानेका छैनन् ।’ सरकारले यस क्षेत्रमा लगानी नगरेको कार्कीको भनाइ छ । ‘सरकारले च्याउ उत्पादनलाई कुनै प्रकारको सहयोग गरेको छैन,’ उनले भने, ‘हामीले आफ्नो निजी क्षेत्रको लगानीबाट च्याउ उत्पादन गरेका छौँ ।’ च्याउ व्यवसायी दिपक प्रसाद न्यौपानेले ३० देखि ३५ करोड लगानी गरेका छन् । ‘मेरो टिम मिलेर ३० देखि ३५ करोड लगानी गरेका छौँ, प्रतिदिन ४ हजार केजीको क्षमता छ,’ उनले भने, ‘तर १२÷१५ सय किलोको मात्रै बजार पाउन सकिएको छ ।’ नेपालमा उत्पादिन फ्रेस च्याउ बिक्री नभएर आयातित च्याउ बिक्री भइरहेको उनले उल्लेख गरे । ‘आज हाम्रो यत्रो उत्पादन भएको च्याउ होटलमा चल्दैन, क्यान मसरुम मात्रै प्रयोग हुन्छ । क्याम मसरुम विदेशबाट आइरहेको छ,’ न्यौपानेले भने । नेपाल सरकारले आश्वासनमात्रै दिने, कार्यान्वयन नगर्ने न्यौपानेको गुनासो छ । ‘सरकारले क्यान मसरुममा प्रतिबन्ध लगाउने बताएको थियो, तर हालसम्म पूरा भएको छैन,’ उनले भने, ‘फाइभ स्टार होटलमा क्यान मसरुम ७÷८ सय रुपैयाँ पर्छ, मैले बजारमा ३ सय रुपैयाँ किलो फ्रेस च्याउ दिन्छुभन्दा पनि ती होटेलले लिँदैनन् ।’ संघका अनुसार २०७६ सालमा गरिएको एक अध्ययन अनुसार ८० प्रतिशत स्वदेशी च्याउ र २० प्रतिशत आयातित च्याउ खपत भएको थियो । नेपालका च्याउ किसानको लगानी करिब ७ अर्ब पुगेको छ । वार्षिक १० अर्बको च्याउको कारोबार हुने गरेको छ । नेपालमा दैनिक ५० हजार किलो च्याउ खपत हुने गरेको संघको अनुमान छ । नेपाली बजारमा च्याउको माग बढेसँगै कन्ये च्याउ, गोब्रे च्याउ, मृगे च्याउ, रातो च्याउ, दुधे च्याउ, पराले च्याउ लगायतको व्यावसायिक उत्पादन हुँदै आएको छ । च्याउ उपभोगकर्ताको संख्या वृद्धि हुँदै गएको छ । च्याउको व्यावसायिक उत्पादन गर्ने किसानको संख्या पनि दिनानुदिन वृद्धि भएको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान छन् । यस क्षेत्रमा ३० हजार जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएको संघले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा औसतमा वार्षिक १३ सय मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १२ हजार ६ सय ७ मेट्रिक टन च्याउ उत्पादन भएको थियो । वर्ष २०७७÷०७८ मा १३ हजार २ सय ४१ मेट्रिक टन, २०७८÷०७९ मा १४ हजार ३ सय मेट्रिक टन च्याउ उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । नेपालमा वार्षिक औसतमा ६ सय ९३ मेट्रिक टन च्याउ आयात गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यस्तै, सो च्याउ बापत वार्षिक औसतमा १२ करोड ७५ लाख ८२ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा ३३ करोड ८२ लाख १७ हजार रुपैयाँको १ हजार २ सय १० मेट्रिक टन च्याउ आयात भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा १५ करोड ६९ लाख ०६ हजार रुपैयाँ बराबरको ८ सय ६४ मेट्रिक टन च्याउ आयात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा ९ करोड ७६ लाख रुपैयाँको ५ सय ९७ मेट्रिक टन च्याउ आयात भएको भन्सार विभागको तथ्याङ्क छ । भन्सार विभागको तथ्याङ्कमा चालु आर्थिक वर्षको पाँच महिनामा २ करोड ५५ लाख ७४ हजार रुपैयाँको ६३ मेट्रिक टन च्याउ आयात भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा १९ करोड ६९ लाख १७ हजार रुपैयाँको ७ सय ३३ मेट्रिक टन च्याउ आयात गरिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार विश्वभर करिब १ लाख ४० हजार च्याउको प्रजातिमध्ये हालसम्म करिब १४ हजार प्रकारका च्याउ पत्ता लागेका छन् । यसमध्ये करिब ७ हजार प्रजातिका च्याउ खानयोग्य भएको नार्कको तथ्याङ्कमा उल्लेख छ । नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । यसमध्ये १५ प्रतिशत च्याउ खानयोग्य, ७ प्रतिशत औषधीय गुण भएको र १० प्रतिशत विषालु प्रकृतिका छन् भने अरु प्रजाति सम्बन्धी अनुसन्धान हुने प्रक्रियामा रहेको नार्कले उल्लेख गरेको छ । यीमध्ये २ सय प्रजातिका च्याउ प्रयोगशालामा उमार्न सकिन्छ । नार्कका अनुसार हालसम्म १ हजार २ सय ९१ प्रजातिका च्याउ जङ्गली अवस्थामा छन्, जसमध्ये १ सय ५९ प्रजातिमात्र खानका लागि उपयुक्त छन् भने करिब १ सय प्रजाति विषालु र ७४ प्रजातिमा औषधीय गुण छन् ।