अमेरिकाका प्रभावशाली सिनेटर होलेनले नेपाल भ्रमणमा आउने

Share to:

एजेन्सी, भाद्र ९,

अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। उनी सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्नुहुने कार्यतालिका रहेको जनाइएको छ। उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ। त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्नेछन्। खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ। सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ। सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ। भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको जनाइएको छ। नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका होलेनको आठ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुने जनाइएको छ। क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर छन्। यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ। सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन्। अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन्। उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन्। कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरेका थिए । उनी अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर छन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टिपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए। मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर छन्। उनी नेपालको लागि सेप्टेम्वरको पहिलो साता पुग्ने जनाइएको छ तर उनको भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

Like