अमेरिकी राष्ट्रपतिका उम्मेदवार भारतीय मूलका रामास्वामी

Share to:

एजेन्सी, भाद्र ९,

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्यक्ष संवादमा सहभागी नभएकाले यो बहस त्यति रुचिकर नहुने ठानिएको थियो। तर, प्रत्याशी उम्मेदवारले यो आकलनलाई गलत सावित गरिदिएका छन् र ट्रम्पविनाको बहस पनि रोचक बनेको छ। अर्काे वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावको सिलसिलामा बिहीबार रिपब्लिकन पार्टीका आकांक्षी उम्मेदवारहरूले पहिलो प्रत्यक्ष टेलिभिजन संवाद गरेका छन्। यस पार्टीका आठ उम्मेदवारले एकआपसविरुद्ध तिखो प्रहार र जोसिलो बहस गरेका छन्। बहसमा माइक पेन्स, निकी हेली, टिम स्काट, क्रिस क्रिस्टी, रान डिसेङ्टिस, एसा हचिङ्सन, डग बरगुम र विवेक रामास्वामी सहभागी थिए। सबै उम्मेदवारले राम्रो प्रस्तुति गरे पनि भारतीय मूलका विवेक रामास्वामी सर्वाधिक आकर्षणका केन्द्र बनेका छन्। हाजिरीजवाफ शैली र मुस्कानसहितको प्रस्तुतिले उनी सबैभन्दा आकर्षक उम्मेदवार देखिएका छन्। बहसमा जलवायु परिवर्तनका विषयमा सोधिएका प्रश्नमा उनले भने, ‘यो स्टेजमा सहभागी रहेकामध्ये खरिद गर्न नसकिने व्यक्ति म मात्र हुँ।’ त्यसो त, अमेरिकी राष्ट्रपति पदको दौडमा दाबेदारी पेस गर्ने आठ रिपब्लिकन उम्मेदवारमध्ये दुई भारतीय मूलका छन्। अर्की उम्मेदवार निकी हेली हुन्। तर, यी दुईमध्ये रामास्वामीले मजबुत प्रस्तुतिका कारण सबैलाई आश्चर्यमा पारेका छन्। बिबिसी संवाददाता एन्थनी जर्चरका अनुसार रामास्वामी अहिलेसम्म कुनै पनि पदमा उम्मेदवार बनेका छैनन् र सन् २००४ देखि सन् २०२० सम्म भएका राष्ट्रपति चुनावमा मतदानसमेत गरेका छैनन्। तिनै रामास्वामीले पहिलो टेलिभिजन बहसमा आधिपत्य जमाएका छन्। लेखक, करोडौेंका मालिक एवं उद्यमी रामास्वामीले गत फेब्रुअरी २१ मा फक्स न्युजको एक कार्यक्रममा आफू राष्ट्रपति पदको दौडमा सहभागी हुने बताएका थिए। उनले नयाँ अमेरिकी सपनाका लागि सांस्कृतिक आन्दोलन सुरु गर्ने र अमेरिकीहरूलाई एकसूत्रमा बाँध्न नसकिएमा विविधताको कुनै अर्थ नरहने बताएका छन्। ३७ वर्षका रामास्वामीको जन्म ओहायोमा भएको थियो। उनले हार्वर्ड र येल विश्वविद्यालयमा अध्ययन गरेका छन्। बायोटेक्नोलोजी क्षेत्रबाट उनले करोडौं आम्दानी गरेका छन्। यसैगरी उनले एक एसेट मेनेजमेन्ट फर्म सञ्चालन गरिरहेका छन्। उनले अमेरिकाको उच्च शिक्षा मजबुत गर्नुपर्ने र चीनप्रति रहेको अमेरिकी निर्भरता घटाउनुपर्ने बताएका छन्।

Like