अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस (International Civil Aviation Day) मनाइदै
रासंसा/काठमाण्डौ, मार्ग २१,
विश्वमा कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दुर्गमका बिरामीहरूलाई समयमै उपचार कालागि अस्पतालसम्म समयमै पुर्याउन उड्डयनको मूलभूत भूमिकाहरू हुन् । ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरू हाम्रो गाउँको एक मुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्डयन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइन्छ । संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन् । सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५० औ वार्षिकोत्सव मनाउन यस दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्र सङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उड्डयनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ ।
विभिन्न स्वदेशी तथा विदेशी ध्वजावाहक हवाईजहाजहरू नेपाली आकाशमा उड्दछन्, सगरमाथाको यो आकाशमा उड्ने सबैको चन्द्र दाहिने हुन्, सबै यात्रा सुरक्षित रहुन् र संयमित रहुन् । वास्तवमा भन्ने हो भने हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् । सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाइन्सको जहाज अझै भेटिन सकेको छैन । धेरै यात्रुवाहक विमानहरू युद्धको आवेशमा भएका प्रहारले खसालिएका छन् अनि कैयन विमानहरू अनि तिनका अवशेषहरू अझै फेला पर्न सकेका छैनन् । विमान दुर्घटनामा यात्रु बाँच्न सक्ने सम्भावना अत्यन्त कम हुन्छ, चाहे घोप्टे भिरमा खसेको थाई एयरको प्रसङ्ग होस् या सन् २००६ मा ताप्लेजुङको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू-वैज्ञानिक, मानवशास्त्रि तथा World Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरुङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्त्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै मेटिने छैनन् ।वर्ष २०७९ मा पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनाले नेपालीहरुमा ठूलो चोट दिएर गएको छ । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलाई विडम्बना नै मान्नुपर्छ । नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सको ओरालो लागेको साख: र अवस्था छिचोल्दै बिस्तारै अगाडी बढ्दै छ र यो क्रम जारी रहोस् । वर्ष २०२४ को जुलाई २४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना लगायतका धेरै कुराहरुले यस वर्ष फेरि पनि नेपाली नागरिक उड्डयन को सुरक्षामा ठूलो प्रश्न उठेको छ । नेपाली आकाशको सुरक्षा र ब्यबस्थापन खुकुलो नहोस् । संसारकै धेरै खतरनाक तथा साहसी विमानस्थलहरूको सूचीमा नेपालको लुक्ला विमानस्थल उड्डयन जगतको चुनौती हो । भौगोलिक र प्रतिकुल मौसमको स्थितिले पनि उड्डयन सुरक्षा र नवीन प्रविधि नेपाल कालागि निर्विकल्प छ । उड्डयन दुर्घटनामा परेका सबै जनाको आत्माले चिर शान्ति पाउन्, आफ्नो ज्यान जोखिममा राखेर अरूलाई गन्तव्यसम्म पूर्याउने पाइलट, एयर होस्टेस अनि फ्लाइट ईन्जिनियरहरुलाई सलाम । नेपाली आकाश सुरक्षित रहोस्, नेपालको प्राकृतिक छटामा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरू पटक पटक नेपालको आकाशमा उडिरहुन्, सुरक्षित उडान भरी हून ।