माओवादीको राजनीतिक प्रतिवेदन बिनै बैठक
रासंसा/काठमाण्डौ, श्रावण १८,
मुलुकमा साढे एक वर्षपछि सत्तासीन माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भयो। तर, बिना कुनै राजनीतिक र संगठानिक प्रतिवेदन। प्रतिवेदनकै आधारमा विभिन्न वाद, सिद्धान्तका विषयमा छलफल गर्ने कम्युनिस्ट पार्टीको परम्परा नै हुन्छ। तर, माओवादीको बैठकमा यसपटक भने त्यस्तो भएन। अध्यक्ष प्रचण्डले टिपोटका आधारमा भाषण गरे, त्यसैलाई राजनीतिक प्रतिवेदन मान्न निर्देशन दिए र त्यसमाथि सुझाव दिन केन्द्रीय सदस्यहरूसँग आग्रह गरे। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोकाँचो राजनीतिक प्रतिवेदन पढेर सुनाए। तर, केन्द्रीय सदस्यहरूले मसिनो गरी प्रतिवेदन हेर्न र अध्ययन गर्न पनि पाएनन्। जबकि कम्युनिस्ट पार्टीहरूको परम्परा नै हुन्छ, बैठकमा नेतृत्वले व्यवस्थित रूपमा राजनीतिक र संगठानिक प्रतिवेदन प्रस्तुत गर्ने र लामो छलफल गर्ने। कम्युनिस्ट पार्टीमा राजनीतिक तथा संगठानिक दस्तावेजले पार्टी बैठकमा ठूलो महत्व राख्छ। तर, बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा संगठानिक प्रतिवेदनको खाँका मात्रै प्रस्तुत गरेर बैठक चलाएका छन्। पार्टीको सुप्रिम कमान्डर प्रचण्डले पार्टी अस्तव्यस्त र नेता बिग्रिएको भन्दै बैठकमा आक्रमक ढंगले प्रस्तुत भए। उनले भने, ‘पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ। तर, पार्टी पार्टीजस्तो भइराखेको छैन। कम्युनिस्ट पार्टीको पुनर्निर्माण अभियान यो बैठकबाट थाल्नुछ।’ पार्टीको बैठकमा उनले संगठानिक तथा राजनीतिक प्रतिवेदन कार्यकर्ताको हातहातमा बाँडेर वचान गरेर बैठक चलाउनु पर्नेमा त्यस नगरेको एक नेताले बताए। माओवादीको बैठक जहिले पनि अव्यवस्थित र भद्रगोल हुँदै आएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले बुधबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा संगठानिक प्रतिवेदन बैठकमा सहभागी कसैलाई वितरण नगरेको पुष्टि गरे। वर्ष दिनपछि बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पार्टी र नेता भ्रष्टीकरणको दिशामा भएको भन्दै आत्मआलोचना पनि गरे। तर, पार्टी अध्यक्ष दाहाल आफैंले भने पार्टीको विधान र नीतिलाई लत्याएर कहिले खल्तीबाट केन्द्रीय सदस्य थपे भने कहिले आफ्नालाई मन्त्री पद उपहार बाँडे। ‘राजनीतिक तथा संगठानिक दस्तावेज कसैलाई पनि दिइएको छैन। बिहीबार वितरण गर्ने कुरा छ। प्रतिवेदनहरू छापिएको छैन,’ नेता शर्माले भने, ‘बैठकमा हतारहतार प्रचण्डजीले बोल्नुभयो। चार–पाँच पानाको राजनीतिक र संगठानिक प्रतिवेदनको खाका बैठकमा पेस गर्नुभयो, त्यसैका पहिलो दिनको बैठकमा १८ जनाले कुरा राख्नुभयो।’ उनले भने, ‘उहाँलाई समय अलिकति कम भयो। फुर्सद नभएर लखेर पेस गर्न भ्याउनुभएन।’ केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले पार्टी अध्यक्षले बैठकमा राजनीतिक तथा संगठानिक प्रतिवेदन वाचन गरेर सुनाए पनि फाइनल प्रतिवेदन नभएको अध्यक्षले सबैलाई जानकारी दिए। पोलिटब्युरो सदस्य भरतप्रसाद साहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कार्यव्यस्तताका कारण बुधबारको बैठकमा सबैलाई राजनीतिक तथा संगठानिक प्रतिवेदन प्रिन्ट गरेर वितरण गर्न नभ्याएको बताए। तयारी नपुगेर यसअघि पार्टी बैठक स्थगित गरिएको र पटक–पटक प्रधानमन्त्री निवासमा पदाधिकारी र पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बस्दा पनि किन राजनीतिक तथा संगठानिक प्रतिवेदन तयार भएन भन्नेबारे केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्षमाथि प्रश्न उठेको एक नेताले बताए। ‘अध्यक्षजीले पेस गर्नुभएको प्रतिवेदन फाइनल भइसकेको छैन,’ साहले अन्नपूर्णसँग भने, ‘पदाधिकारीहरूले टिपाएको सुझावहरूका आधारमा उहाँले कुरा राख्नुभयो। केन्द्रीय समितिको बैठकबाट सुझाव आएपछि राजनीतिक तथा संगठानिक प्रतिवेदन फाइनल हुन्छ भनेर अध्यक्ष दाहाल भन्नुभयो।’ ‘अध्यक्षजीले पेस गर्नुभएको प्रतिवेदन फाइनल भइसकेको छैन,’ साहले अन्नपूर्णसँग भने, ‘पदाधिकारीहरूले टिपाएको सुझावहरूका आधारमा उहाँले कुरा राख्नुभयो। केन्द्रीय समितिको बैठकबाट सुझाव आएपछि राजनीतिक तथा संगठानिक प्रतिवेदन फाइनल हुन्छ भनेर अध्यक्ष दाहाल भन्नुभयो।’ बुधबारको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी तथा स्थायी समिति सदस्यहरूले दिएको सुझावको टिपोर्ट वाचन गरेर सुनाएका थिए। अध्यक्ष दाहालले बैठकमा वाचन गरेको राजनीतिक तथा संगठानिक प्रतिवेदनबारे बताउँदै केन्द्रीय सदस्य पोखरेलले अन्नपूर्णसँग भने, ‘अध्यक्ष दाहालले यो प्रारम्भिक खाँका मात्रै हो। छलफलका लागि सजिलो होस् भनेर मैले पेस गरेको हुँ। टाइप पनि गरिएको छैन। अन्तिम प्रिन्ट आउट गरेर सबैलाई दिन मिल्ने स्तरको पनि छैन भन्दै उहाँले ५–६ पेजको संगठानिक तथा राजनीतिक प्रस्ताव पेस गर्नुभयो।’ अर्का केन्द्रीय सदस्य राजु खड्काले भने, ‘राजनीतिक तथा संगठानिक प्रतिवदेन निकै छोटो थियो। उहाँले पढेर सुनाउनुभयो। हामीले टिपोट ग¥यौं। त्यसमा तीन महिनापछि पार्टीको विधान सम्मेलन गर्ने भनिएको छ। बैठकबाट नेताहरूलाई जिम्मेवारी दिएर तीन महिने संगठन निर्माण अभियान चलाइने भनियो।’ अध्यक्ष दाहालले बिहीबार लिखित रूपमा सबै केन्द्रीय सदस्यहरूको हातमा प्रतिवेदनहरू दिने नेताहरूले जनाएका छन्। पार्टी अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा राजनीतिक तथा संगठानिक प्रतिवेदन तयार गर्न पार्टीका नेताहरूसँग लगातार छलफल गरेका थिए। तर, उनले प्रतिवेदनलाई मूर्तरूप नदिएर हचुवाको भरमा बैठक चलाएका छन्। बुधबारको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बोलेका नेताहरूले माओवादी नेतृत्वको सरकारको कामको प्रशंसा गरेका छन् भने पार्टीबाट मन्त्री बनेका नेताहरूको कार्यशैली र व्यवहारको कडा आलोचना गरेका छन्। पार्टी निर्माण प्राथमिकतामा हुनुपर्नेमा नेताहरूले बैठकमा जोड दिएका छन्। नेताहरूको कार्यविभाजन गर्न बैठकमा माग गरिएको छ। सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियान ठूला फाइलहरू अझै लुकाइ राखिएकाले त्यसलाई खोल्न नेताहरूले अध्यक्ष दाहालसँग माग गरेका छन्। बैठकमा नेताहरूले एकै स्वरमा अध्यक्ष दाहाललाई भने, ‘सरकार ढल्छ कि रहन्छ भनेर पछाडि फर्केर नर्हेनुस्। सरकार ढल्छ भने ढलोस् तर, भ्रष्टाचार र अपराधका ठूला फाइलहरू खोल्नुस् र कारबाही गर्नुस्।’ ‘मूलरूपमा प्रधानमन्त्रीको प्रशंसा गरेका छन्। सरकारले सुशासनको पक्षमा गरेका कामहरूले देशमा माओवादीको इज्जत बढाएको छ।’ बैठकमा नेताहरूले राखेको धारणाबारे केन्द्रीय सदस्य शर्माले भने, ‘तर, पार्टीमा व्यथिति छ। पार्टीमा चरम गुठबन्दी छ। पार्टी विधि विधानमा चलेको छैन। पार्टी अराजकतातर्फ गयो। पार्टीका कार्यकर्तामा निराशा छाएको छ।’ बलियो र व्यवस्थित पार्टी नबनाइकन सरकारले गरेको कामको प्रतिफल राम्रो नआउनेमा नेताहरूले पार्टी पंक्तिलाई ध्यानाकर्षण गराएको उनले बताए। माओवादी केन्द्रका उपमहासचिव नेता वर्षमान पुनले जनताको अल्पकालीन तथा दीर्घकालीन जीवनसँग जोडिएका पक्षमा एजेन्डा बनाएर स्थानीय स्तरमा जान बैठकमा छलफल चलाइएको बताए। बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी निर्माणका लागि तीन महिना अभियान चलाउने बताएका छन्। त्यसका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेर फिल्डमा पठाउने बताएका छन्। ‘सुशासन, समृद्धि र सामाजिक न्यायका कुरालाई बृहत्तर कार्यक्रमको रूप दिएर सरकार अगाडि बढेको छ। हामी यो यात्रालाई सफल बनाउनका लागि जनता समक्ष नेताहरूलाई मुख्य जिम्मेवारी निर्धारण गरेर पठाउँछौं,’ उनले भने। ‘पार्टी अध्यक्षज्यूले पार्टी एकता गरेर अघि बढ्ने प्रस्ताव पेस गर्नुभएको छ। हामी सबै समाजवादी यात्रामा अघि बढ्छौं। जनताको चाहनाहरू पूरा गर्नका लागि समाजवादी यात्रा मात्रै एक विकल्प हो,’ अध्यक्ष दाहालले बैठकमा बोलेको कुरा बताउँदै भने, ‘समाजवादी यात्रामा वामपन्थी एकता पनि हुनसक्छ।’ पार्टीलाई व्यवस्थित बनाउनका लागि मंसिरमा पार्टीको विधान अधिवेशन गर्ने एजेन्डा बैठकमा पेस भएको माओवादी नेता अमरलाल मोदीले बताए। उनका अनुसार, पार्टी एकता प्रक्रियालाई अघि बढाउने पार्टी अध्यक्ष दाहालले बैठकमा प्रस्ताव लगेका छन्।