सडकको काम स्पष्टीकरणपछि पुनः सञ्चालन

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकमा ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ। पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो। कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो। लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ। भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठूल्ढुङ्गा दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ। असार मसान्तभित्र उक्त खण्डको कामको प्रगति ४० प्रतिशत हुनसके निर्माण कम्पनीको म्याद थप्ने नभए ठेक्का सम्झौता तोड्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। “निर्माण कम्पनीको लापर्बाहीका कारण कामले सोचेअनुरुप गति लिन नसकेपछि बसेको सर्वपक्षीय बैठकले असारसम्मको कामको प्रगति हेरेर म्याद थप गर्ने वा ठेक्का तोड्ने भन्ने निर्णय लिनेछ”, उनले भने। पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म रहेकामा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य एवं स्थानीयवासी गलबहादुर गुरुङले जानकारी दिए। उनले भने, “अहिले कामले केही गति लिन खोजेकोजस्तो देखिन्छ। दुई जेसिभी, दुई स्काभेटर, दुई टिपर, दुई ट्याक्टर प्रयोग गरी काम अगाडि बढेको छ, कामदार पनि केही सङ्ख्यामा थपिएको छ।” भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति करिब २० प्रतिशत मात्रै रहेको छ। विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो। पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दश किमि खण्ड कालोपत्रे, नाला निर्माण तथा ग्याविन जाली भर्नेलगायतका कामका लागि काठमाडौंस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापर्बाहीका कारण दुई पटक म्याद थप हुँदासमेत काम नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएको स्थानीयवासी गुरुङले बताए। “दश किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापर्बाही गर्दै आएका छन्, पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि काम अगाडि बढ्न सकेन”, उनले भने, “बाटोको काम नहुँदा सर्वसाधारणले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्नुपरेको छ।” उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो। कार्यालयले निर्माण कम्पनीलाई रु दुई करोड ६८ लाख निकासा गरिसकेको छ । समयमा काम सम्पन्न नभएपछि विसं २०८० असार १४ गतेसम्म म्याद थप भएको कार्यालय प्रमुख दिनेश घिमिरेले जानकारी दिए। विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ। बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका काम विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्न विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो। सडक कालोपत्रे गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन्। निर्माण व्यवसायीको लापर्बाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्ण अधिकारीले बताए।

Like