संवैधानिक व्यवस्था छल्न फरार सांसद कोइरीले पठाए ‘बिरामी’ भएको पत्र
रासंसा/काठमाण्डौ, बैशाख १४,
मुलुकमा हत्या मुद्दाका अभियुक्त एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद् सचिवालयलाई दुईवटा पत्र लेखेर आफू बिरामी भएको जानकारी गराएका छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या मुद्दामा उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा पनि सांसद बनिरहेका कोइरीले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू बिरामी परेको जानकारी गराएका हुन् । संसद्का १० वटा बैठकमा लगातार अनुपस्थित भए सांसद पद खारेज हुने संवैभधानिक व्यवस्था छल्न हत्या मुद्दाका अभियुक्त फरार एमाले सांसद लक्ष्मी महतो कोइरीले संसद् सचिवालयमा ‘बिरामी’ भएको २ वटा पत्र पठाएका छन् ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमाले सांसद कोइरीले अनुपस्थितिको जानकारी पत्रमार्फत गराएको बताए । सभामुख घिमिरेले सांसद कोइरी अहिले निलम्बनको अवस्थामा नरहेको पनि बताए । आधिकारिक निकाय नेपाल प्रहरीबाट फरार रहेको पत्र प्राप्त भइनसकेकाले सांसद कोइरीलाई फरार रहेको भन्न नमिल्ने सभामुख घिमिरेको भनाइ छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एमाले सांसद कोइरीले २ वटा पत्र लेखेको बताए । सांसद कोइरीको पत्रबारे प्रवक्ता गिरीले भने, ‘उहाँका दुईवटा पत्र प्राप्त भएका छन् । पत्रमा स्वास्थ्य उपचार बिदामा भन्ने भाषामा लेखिएको छ । सांसद कोइरीले माघ २५ गते लेख्नुभएको पत्रमा स्वास्थ्य सुधार भएपछि उपस्थित हुने पत्रमा उल्लेख गर्नुभएको छ ।’ प्रतिनिधिसभा नियमावली, २०७९ जारी भएपछि नेपाल प्रहरीले सांसद कोइरी फरार सूचीमा रहेको भन्ने पत्र नपठाएको भनाइ प्रवक्ता गिरीको पनि थियो । उनले भने, ‘फरार रहेको भनेर नयाँ पत्र लेख्नुपर्छ । नियमावली बनेपछि उहाँ फरार रहेको भन्ने पत्र प्राप्त भएको छैन ।’ सांसद कोइरीलाई तलब भने संसद् सचिवालयले उपलब्ध नगराएको प्रवक्ताले बताए । संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सभामुख घिमिरेलाई कोइरीको अवस्थाबारे जानकारी मागेकी थिइन् । उनले संविधानको व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउँदै सभामुखको जवाफ मागेकी थिइन् । सभामुख घिमिरे र संघीय संसद्का प्रवक्ता गिरीले प्रहरीबाट पत्र प्राप्त नभएको बताए पनि २०७९ पुस ७ मा संसद् सचिवालयलाई पत्र पुगेको थियो । प्रहरी प्रधान कार्यालयले पठाएको उक्त पत्रमा कोइरी फरार रहेकाले पक्राउ गर्नका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । कोइरी २०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सांसद कोइरीले इमेलबाट संसद् सचिवालयलाई पत्र लेखेका हुन् । सांसद कोइरी महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि कोइरी कानुनको नजरमा फरार हुन् । फरार रहेकै अवस्थामा उनी निर्वाचित भएका थिए ।