पुलिसको लगातार तेस्रो हार, जावलाखेल र एपिएफले अंक बाँडे
रासंसा/काठमाण्डौ, फाल्गुण २७,
मुलुकमा विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लव र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन्। संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा सुरुवातबाट नै दबाब दिएर खेलेको थियो। अघिल्ला दुई खेलमा पनि नतिजा सुम्पिएको पुलिसले अंक लिनका लागि खेल्ने रणनीति बनाए पनि असफल भएको हो। ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपिएफ क्लवसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन्। संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो। त्यसपछि खेल दोस्रो हाफतिर पुगेको थियो। यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको पुलिस अंक बिहीन छ। यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग गोलरहित बराबरी खेल्दा मनाङ मस्र्याङ्दी क्लवसँग १–० को पराजय व्यहोरेका थियो। उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लवसँग १–० ले पराजित भएको थियो। खेलको ८० औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए। मनिष डांगीको प्रहार पुलिस रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए। त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल थप्यो। सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए। मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए। लिग अन्तर्गत शनिवारै सम्पन्न अर्को खेलमा अर्को विभागीय टोली एपिएफ जावलाखेल युथ क्लवसँग गोल रहित बराबरीमा रोकियो। दुबै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन। १० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लवले एक अंकमा चित्त बुझाएको हो। ३२ औं मिनेटमा एपिएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए। ३९ औं मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए। ४७ औं मिनेटमा एपिएफका सनिश श्रेष्ठको प्रहार अनिशले बचाए। त्यस्तै ६८ औं मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९ औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान पठाएका थिए। तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन्। यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुेकेका थिए। २४ औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपिएफका गोकिपर एञ्जल श्रेष्ठले बचाएका थिए। त्यसको पाँच मिनेटपछि एन्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन असफल भएको थियो। यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ। एपिएफको समान खेलबाट चार अंक भएको छ। जावालखेलले यसअघि साविक विजेता मछिन्द्र फुटबल क्लवलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो। यसैगरी थ्री स्टार क्लवलाई २–० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लवसँग १–० को हार व्यहोरेको थियो। लिगमा आईतवार दुई खेल हुनेछन्। एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ।