फोहाेरको डङ्गुरले काठमाण्डौका सडक ढाक्यो

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २१,

मुलुकमा दुई महिनादेखि काठमाडौँको सडकमा फोहाेर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहाेरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहाेर थुप्रिन थालेको जनाएको छ। यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहाेर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहाेर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ। विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ। कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहाेर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ। त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताए। त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहाेर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमा नै सडक मर्मतको काम नगरेको, फोहाेर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहाेरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहाेर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहाेर छुट्याउनमा योगदान गर्नुपर्ने वातावरणविद् भूषण तुलाधरको भनाइ छ। ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहरलाई दिगो व्यवस्थापन गर्न सकिने र यसको सुरुआत घरबाट होइन भान्साबाट फोहर वर्गीकरण गर्न थाल्नुपर्छ’, तुलाधरले भने। यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो।

Like