यसरी चल्दैछ ठूलो बन्ने होड, ६ ठूला बैंक मर्जरको लाइनमा, राष्ट्र बैंकको निरन्तरको दबाब

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २,

मुलुकमा ६ वटा ठूला वाणिज्य बैंकहरू मर्जरको होडमा देखिएका छन् । हालसम्मकै ठूलो बैंक ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू (बिओके) र नेपाल बंगलादेश बैंक मर्जरको फ्रन्ट लाइनमा देखिएका हुन् । यी ठूला बैंकहरूमध्ये ग्लोबल आईएमईले बैंक अफ काठमाण्डूसँग मर्जरको हात अघि बढाएको छ भने नबिलले नेपाल बंगलादेश बैंकसँग र नेपाल इनभेष्टमेन्ट बैंकले मेगा बैंकसँग । यी छ वटै ठूला वाणिज्य बैंकहरू यतिखेर मर्जरपछि को ठूल्लो बन्ने होडमा देखिन्छन् । फेरि, इनभेष्टमेन्ट बैंकले उपयुक्त मर्जर पार्टनर खोजेको छ । हिमालयनसँग मर्जर प्रक्रिया भाँडिएसँगै पुनः मर्जरका लागि राष्ट्र बैंकबाट थप दबाब खेपेको बैंकले अर्को विकल्पमा मेगा बैंकलाई रोजेको छ । १००ः९० स्वप रेसियोमा मेगा बैंकलाई एसेप्ट गरेको इनभेष्टमेन्टले कुल ३२ अर्ब ८० करोड चुक्ता पुँजीसहित मुलुककै ठूलो बैंक बन्ने लाइनमा थियो । तर, पछिल्लो पटक हालकै ठूलो बैंक ग्लोबल आईएमई बैंकले अर्को बैंक बैंक अफ काठमाण्डूसँग मर्जरको हात बढाएपछि इनभेष्टमेन्ट बैंकको ठूलो बन्ने सपना तुहिन पुगेको छ । यसअघि इनभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको लामै प्रक्रिया चल्यो । मर्जरपछि दुबै बैंकको संयुक्त पुँजी करिब २७ अर्ब पुग्ने र देशकै ठूलो बैंक बन्ने भनियो । तर, दुर्भाग्यवस इनभेष्टमेन्ट र हिमालयन बैंकबीचको मर्जरको यात्रा बीचमै टुहियो । इनभेष्टमेन्ट–मेगा मर्जरको प्रक्रिया चल्दा नचल्दै यता ग्लोबल आईएमई बैंकले पुनः आफ्नो लागि उपयुक्त मर्जर पार्टनर खोजिसकेको छ । विहीबार मात्र बैंकले अर्को वाणिज्य बैंक, बैंक अफ काठमाण्डूसँग प्रारम्भिक सम्झौता गर्दै मर्जरको घोषणा गरेको छ । १ः१ स्वाप रेसियोमा दुई बैंकबीच मर्जर हुने सहमति भएकोमा मर्जरपछिको नयाँ बन्ने ग्लोबल आईएमई बिओके बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्ने छ । जुन हालसम्म भएका बैंकहरूको मात्र नभई हालसम्म मर्जरमा जान सहमति गरिसकेका बैंकहरूको मर्जरपछिको चुक्ता पुँजी भन्दा पनि बढी हो । यस्तै ठूलो बैंक बन्ने होडको संघर्षमा अर्को बैंक नबिल पनि लाइनमा रहेको छ । बैंकले हालको नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई समेत आफूमा समाहित गर्न ठूलो प्रयत्न गरिरहेको छ । यद्यपि, नेपाल बंगलादेश बैंकसँग नबिलको प्राप्ति सहमति भइसकेपनि एनसीसीको बारेमा भने कुनै टुंगो लागिसकेको छैन । इनभेष्टमेन्ट र मेगा बैंक मर्जर भएर ३२ अर्ब ८० करोड चुक्ता पुँजी पुग्दा ग्लोबल आईएमई र बिओकेको मर्जरबाट ३४ अर्ब ४१ अर्ब माथि पुग्नेछ । जसले हालको पहिलो बैंकको ताज पुनः ग्लोबल आईएमई बैंकले नै पाउनेछ ।
संघर्षमा अर्को ठूलो बैंक ‘नबिल’ १००ः६५ स्वाप रेसियोमा एनसीसीलाई आफूमा गाभ्न चाहेको नबिल बैंकको प्रयास यदि सफल भए हालको ११ अर्ब १३ करोड चुक्ता पुँजी भएको एनसीसीसहित तीन वटा बैंकको मर्जरपछिको चुक्ता पुँजी ३० अर्ब ५ करोड पुग्नेछ । तथापि, पहिलो बैंक बन्न यो नै पर्याप्त हुने छैन । मर्जरका लागि तयारी अवस्थामा रहेका ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू तथा नेपाल इनभेष्टमेन्ट र मेगा बैंक मर्जरपछिको बन्ने अर्को दुई वटा बैंकहरूको चुक्ता पुँजी यो भन्दा पनि धेरै हुनेछ । हाल १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको नबिल बैंकले १० अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बंगलादेश बैंकलाई आफूमा समाहित गरेपछि बैंकको मर्जरपछिको चुक्ता पुँजी २२ अर्ब ८२ करोड पुग्नेछ । जुन हाल ठूला बैंकको दौडमा रहेका बैंकहरूसँग प्रतिस्पर्धाका लागि प्रयाप्त हुने छैन । जसका लागि नबिल बैंकले आफ्नै मातृ लगानी भएको एनसीसीलाई पनि गाभ्नुपर्ने हुन्छ । यसका लागि बैंकले भित्री रुपमा भगिरथ प्रयत्न गरिरहेको भन्ने सुनिन्छ । उसो त चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरू मर्जरका लागि दौडधुप गर्दै गर्दा बैंकहरूमाथि मर्जरका लागि राष्ट्र बैंकबाट निरन्तर दबाब परिरहेको सहजै बुझ्न सकिन्छ । मौद्रिक नीतिदेखि नै तारन्तार मर्जरका लागि दबाब दिँदै आएको छ राष्ट्र बैंकले । पछिल्लो समय अर्को आर्थिक वर्ष लागेपछि मर्जरका लागि कुनै पनि छुट तथा सुविधा नदिने बताइसकेको छ । यसले पनि बैंकहरू चालु आर्थिक वर्षभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान चाहेको देखिन्छ । त्यसै गरी बैंकहरूले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइएको छ । एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा १ वर्षको समय दिएर सीमामा ल्याउन सकिने व्यवस्था छ । त्यस्तै, एकीकृत कारोबार सञ्चालनको क्रममा १ किलोमिटरभित्रका शाखा कार्यालयहरूमध्ये कुनै एक शाखा कायम राखेर अन्य शाखा गाभ्न वा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने पनि सहुलियत दिइएको छ । वाणिज्य बैंकको ०.१० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीहरूले यस्तो सेयर बिक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य नहुनेलगायत सुविधा बैंक तथा वित्तीय संस्थालाई दिइएको छ । मर्जरमा जाने बैंकलाई तोकिएका क्षेत्रमा अनिवार्य प्रवाह गर्नुपर्ने कर्जाका लागि एक वर्षको समयसीमा थपिएको छ भने मर्जर तथा एक्विजिसनपछि एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले र वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट हुने व्यवस्था गरिएको छ । यस्तै, बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिएको छ भने यस्ता संस्थाको सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई अर्को वित्तीय संस्थामा आबद्ध हुन नपाउने व्यवस्थामा पनि छुट दिइएको छ । प्रदेश स्तरमा सञ्चालित विकास बैंक एकापसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भएर एकीकृत कारोबार सञ्चालन गरेमा कार्य क्षेत्रभित्र पायक पर्ने स्थानमा कर्पोरेट कार्यालय स्थापना गर्न र प्रदेश राजधानी तथा काठमाडौंमा सम्पर्क कार्यालय खोल्न राष्ट्र बैंकले स्वीकृति समेत दिएको छ ।

Like