अमेरिकी उपविदेशमन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा सरकारले लगेको होइन : सञ्चारमन्त्री कार्की
रासंसा/काठमाण्डौ, आषाढ २,
मुलुकका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी उप विदेशमन्त्री उज्रा जेयाको तिब्बती शरणार्थी शिविर भ्रमणबारे जानकारी नभएको बताउनु भएको छ । संसदमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री कार्कीले भन्नुभयो, ‘तिब्बती शरणार्थी शिविरमा अण्ड सेक्रेटरीलाई नेपाल सरकारले आयोजना गरेर लगेको होइन।’ तर प्रहरी स्कर्टिङमै उप विदेशमन्त्री जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेको तस्बिर नै सार्वजनिक भएको थियो। तस्बिर सार्वजनिक भएपछि राज्य तहबाटै शरणार्थी शिविर जाने अनुमति दिएको भन्दै आलोचना भएको थियो। मन्त्री कार्कीले नेपालले आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रको हितविपरीत हुनेगरी प्रयोग गर्न नदिने प्रतिबद्धता जनाउदै ‘यो कुरामा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा स्पष्ट पार्न चाहन्छु,’ उहाले भन्नुभयो । मन्त्री कार्कीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सरकारले कुनै निर्णय नगरेको स्पष्ट पार्दै एसपीपीमा सरकारले कुनै सम्झौता पनि नगर्ने उहाको भनाइ छ। एमसीसी आर्थिक परियोजना भएकाले यो खारेज गर्नुनपर्ने उहाले जिकिर गर्दै ‘एमसीसी र एसपीपी फरक परियोजना हो। एसपीपीमा सरकार सचेत छ,’ उहाले भन्नुभयो ।