‘राजा ल्याउने प्रस्ताव’ आएपछि बन्यो अग्रगामी मोर्चा
रासंसा/काठमाण्डौ, श्रावण २१,
मुलुकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले राजा ल्याउने सुझाव दिएपछि सात दल अग्रगामी मोर्चा बनाउन तम्सिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारले गर्दै आएको गतिविधि शंकास्पद देखिएकाले अग्रगामी मोर्चा गठन गरिएको मोर्चाका एक घटक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले बताए । उनले भने, ‘सरकारकै पक्षबाट राजा ल्याउने गम्भीर प्रस्तावसहित प्रतिवेदन आएपछि मोर्चा बनाइएको हो, त्यसका लागि नै देशका अग्रगामी शक्तिहरू एक ठाउँमा आएका हुन् ।’उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टीले मिलेर अग्रगामी मोर्चा घोषणा गर्न लागेका हुन् । सरकारबाटै संघीयता, समावेशी, धर्मनिरपेक्षता, गणतन्त्रमाथि खतरा देखिएको उनले दोहोर्याए । भने, संविधान संशोधन बहसपत्र तयार पार्न प्रधानमन्त्री बालेनका मुख्य सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरेको कार्यदलले राजा ल्याउने सुझाव मात्र होइन, जनमत संग्रह गर्ने प्रतिवेदनमार्फत सुझाव दिएपछि दलहरू संगठित हुन थालेका हुन् ।’ ‘मुख्य कुरा सरकारमाथि बढेको आशंका नै हो,’ अध्यक्ष अन्सारीले भने, ‘अहिलेको सरकारप्रति शंका बढेको छ, हामी पनि सशंकित छौँ ।’ ‘बलगर’ संघीयता बनाउने घोषणा गरेर अत्यधिक मत ल्याएर प्रधानमन्त्री बनेका बालेन अहिले संघीयताबारे मौन बस्नुले धेरै कुराको संकेत गरेको उनको भनाइ थियो । जनता समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले प्राप्त उपलब्धि पनि डुब्ने खतरा उत्पन्न भएको देखेर नै अग्रगामी मोर्चा बनाएको बताए । संघर्षबाट प्राप्त उपलब्धिलाई रक्षा गर्ने, गणतन्त्रलाई संस्था गर्ने र बाँकी रहेको जनताको अधिकार र पहिचानको मुद्दालाई अगाडि बढाउने उद्देश्यले यो मोर्चा निर्माण भएको उनले बताए । रास्वपाले प्रदेश नै खारेज गर्ने पार्टीको महाधिवेशनबाट पारित गर्दा पनि प्रधानमन्त्री बालेनले त्यसलाई रोक्ने प्रयास नगरेका अन्सारीको आरोप छ । ‘अहिले आएर सरकारकै कारण धार्मिक ध्रुवीकरण बढिरहेको छ,’ उनले थपे, ‘धेरै कुरामा आशंका बढाएको छ ।’ उनका अनुसार मोर्चाले तत्कालै संघर्षका कार्यक्रम घोषणा गर्ने छैन । घोषणापछि बैठक बसेर कार्यक्रम तय गर्नेछ । सुरुमा अग्रगामी मोर्चा जनतामा जाने काम गर्छ । वर्तमान अवस्थामा जानकारी गराउनका लागि जनतामा जान्छ । देशका प्रमुख सहरमा अन्तर्क्रिया कार्यक्रममार्फत जनतालाई अहिलेको वर्तमान अवस्थाबारे जानकारी गराउने तयारी मोर्चाको छ । देशलाई प्रतिगमनमा जान रोक्न अहिलेको अवस्थामा मोर्चाको आवश्यकता परेको उनको भनाइ थियो । र साउन २३ गते अधिकारिक घोषणा गरेर जनतामा जाने उनले बताए । देशको वर्तमान अवस्थाबारे जनतालाई जानकारी गराएपछि त्यहाँबाट आउने प्रतिक्रियाका आधारमा थप कार्यक्रम बनाउने योजना मोर्चाको रहेको अन्सारीले बताए ।
