तनहुँमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहु
खुला पुरुष भलिबल प्रतियोगिता आयोजना
द नाइनटिज युवा क्लब को आयोजनामा तनहुँको व्यास नगरपालिका वडा नं. ५ र म्याग्दे गाउँपालिका वडा नं. १ का युवाहरूको सक्रिय पहलमा खुला वडा स्तरीय प्रथम “द नाइनटिज पुरुष भलिबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ।
सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको क्लब जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत रूपमा दर्ता गरिएको हो। क्लबका अध्यक्ष एक कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिता व्यास नगरपालिका वडा नं. ५ स्थित निवुवाखोला खेलमैदानमा यही जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामार्फत स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै व्यास नगरपालिकालाई खेलकुद तथा पर्यटनका माध्यमबाट परिचित गराउने उद्देश्य रहेको क्लबले जनाएको छ।
प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागी टिमले सम्बन्धित वडाको सिफारिससहित क्लबको लेटरप्याडमा खेलाडीहरूको नाम उल्लेख गरी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएपमार्फत दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको दर्ता शुल्क रु. ३,५०० निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३३,३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमले रु. २२,२२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी तृतीय हुने टिमलाई रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी तथा मेडलद्वारा सम्मान गरिनेछ।
कार्यक्रम सफल बनाउन आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, मञ्च व्यवस्थापन, यातायात, अतिथि सत्कार तथा समग्र कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष एक कुमार श्रेष्ठले युवाहरूलाई संगठित गर्दै खेलकुदमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लक्ष्य रहेको बताएका छन्।