तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे ‘उत्कृष्ट प्रहरी’ घोषित

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
सूचना ब्युरोतनहुँ
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जिल्ला प्रहरी कार्यालय, तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेलाई २०८३ साल कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। साङ्गठनिक नीति निर्देशनबमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, वफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आउनुभएका घिमिरेको नेतृत्वमा कार्तिक महिनामा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको मूल्याङ्कन गरिएको छ। जसअनुसार उहाँको कप्तानीमा कर्तव्य ज्यान कसूरका एक जना, फरार प्रतिवादी १३ जना, अवैध जुवातासमा संलग्न सात जना र अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीको हस्ताक्षरसहित जारी सम्मानपत्रमार्फत उहाँलाई उत्कृष्ट प्रदेश प्रहरी छनोट हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरिएको छ।
