सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू हुने

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २५,

मुलुकमा सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल (मन्त्रीस्तर) को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार आजैदेखि नयाँ भाडा दर लागू हुनेछ । निर्देशक यादवले भाडा समायोजन एउटा नियमित प्रक्रिया भएको र यसपटक विभिन्न १३ वटा सूचकहरूलाई आधार मानेर भाडा दर पुनरावलोकन गरिएको जानकारी दिए । ‘भाडा समायोजन गर्ने विषयमा आवश्यक हिसाब र क्याल्कुलेसन सम्पन्न भई अगाडि बढिसकेको छ,’ यादवले भने,‘ आजैदेखि राजधानीमा बढेको भाडा दर लागू हुनेछ ।’ पहिलेदेखि नै भइराखेको विषय हो यो, बीचमा केही समय रोकिएको थियो । अहिले सबै पक्षको विस्तृत विश्लेषण गरेर नयाँ दर तय गरिएको हो । यादवले भने, ‘भाडा समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा अन्य १३ वटा गैर–इन्धन सूचकहरूको हुन्छ । ती सबै पक्षको विस्तृत क्याल्कुलेसन गरेर नयाँ दर तय गरिएको हो ।’ विगतमा इन्धनको मूल्यलाई मात्र मुख्य आधार मानिने गरे पनि यस पटक सवारी साधनका अन्य पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम लागत लगायतका १३ वटा सूचकहरूलाई विश्लेषण गरी भाडा समायोजनको प्रस्ताव तयार पारिएको विभागका निर्देशक यादवको भनाइ छ । विभागले २०८२ साउन १ गते सवारी साधनको मूल्य समायोजनका लागि एउटा समिति गठन गरेको थियो । उक्त समितिले टायर, लुब्रिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिक लगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो । २०६५ सालमा इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा घट/बढ हुने सहमति भएको थियो, तर कार्यान्वयनमा आउन सकेको थिएन । पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए । नेपाल आयल निगमले पनि द्वन्द्व सुरु भएसँगै पेट्रोलियम पदार्थको मूल्य तीन पटक बढाइसकेको छ । पेट्रोलको मूल्य अहिले प्रति लिटर २०२ रुपैयाँ र डिजलको भाउ प्रति लिटर १८२ रुपैयाँ छ । २०७८ सालयता इन्धनको भाउ पटक–पटक बढ्दा पनि भाडा दर समायोजन हुन नसकेको भन्दै यातायात व्यवसायीहरूले सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । यसअघि इन्धनको मूल्य बढेका आधारमा २०८१ पुस २२ गते भाडा दर समायोजन भएको थियो ।

Like