स्वकीय सचिवहरूको तलब सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो
रासंसा/कैलाली, चैत्र ०६,
मुलुकमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ । संघीय सरकारले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेकाले प्रदेश सभा सचिवालयले सुदूरपश्चिमका सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब भुक्तानी नगरेको हो । जेन्जी आन्दोलनपछि बनेको अन्तरिक सरकारले स्वकीय सचिवको सुविधा हटाएको थियो । तर सुदूरपश्चिम प्रदेश सरकारले भने स्वकीय सचिवको सुविधा लिने पक्षमा उभिएको थियो । प्रदेश सभामुखले एक जना अधिकृत र एक जना खरिदार, उपसभामुखको पनि एक जना अधिकृत र एक जना खरिदार, चालक राख्दै आएका थिए । यस्तै संसदीय दलको नेताको चालक, कार्यालय सहयोगी सहित ४२ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवसहित ५८ जनालाई गत असोजदेखिको तलब संघीय सरकारले असोज ६ गते पठाएको परिपत्रका आधारमा भुक्तानी नगरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । उनले संघीय सरकारको खर्च कटौति गर्ने परिपत्र अन्तर्गत प्रदेश सभा सदस्य, सभामुख र उपसभामुखका स्वकीय सचिवहरूलाई असोजदेखिको तलब हाल्न नसकिएको बताए । प्रदेश सभामा रहेका सबै दल र प्रदेश सभा सदस्यहरू स्वकीय सचिवको सुविधा लिन एकमत भए पनि प्रदेश सभा सचिवालयले तलब भुक्तानी गर्न नसकिने भन्दै स्वकीय सचिवसहित ५८ जनाको तलब रोक्का गरेको छ । जसबाट राज्यको ठुलो रकम बचत हुने भएको छ ।