आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस, प्रदोष व्रत मनाइदै
रासंसा/काठमाण्डौ, माघ २,
स्मिन्तु काल उपद्रुताः, पृथिवी कम्पती भृशम्।
दैवभूतातिदुःखानि, चान्योन्यं च भयं महत्॥
यस कलियुगमा,पृथ्वीले ठूलो कम्पन गर्नेछ, र जीवित प्राणीहरूले प्राकृतिक विपत्तिहरूअनि खगोलीय अशान्तिहरू र एक अर्का बाट नै ठूलो डर र ठूलो दुःख भोग्दछन्। यूग चाहे कली होस् या सत्य, प्राकृतिक विपतीहरुको सामना मानव सभ्यताले हदैसम्म गरेको छ । माटो खानु अर्थात् मृत्यु हुनु, उति बेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यु भयो ! धेरै त्यस्ता नदीनाला अनि खहरे खोलाहरूले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतिक अत्याचारको अनि क्षतिको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइन्छ । भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरूले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको सङ्ख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएका भौतिक पूर्वाधारहरू जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारिक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन । वास्तवमा समय र परिस्थितिपरक भूँईचालो सम्बन्धी जानकारीहरू अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।
आजभन्दा ९० वर्ष अगाडिको महा विनाशकारी भूकम्प
वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरू तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजुरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो । १९९० को भूकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभए पनि सारांशका रूपमा प्रस्तुत गर्न चाहन्छौ ।
यहाँ जस्ताको तस्तै नभए पनि सारांशका रूपमा प्रस्तुत गर्न चाहन्छौ । २०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरू दिए तर सयौँ शताब्ददेखि डाँडाकाँडा तथा भीर पाखाहरूमा बसोबास गर्दै आएका नेपालीहरूको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै व्यवसायी अनि अत्यन्त जीर्ण भवनहरूमा भूकम्पको बेला बसोबास गर्न भने हुँदैन । व्यापक जग्गा प्लटिङ र पहाडहरूको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ । उक्त दिन अर्थात् आजको मिति माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासि जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठुला-ठूला ढुङ्गाहरू झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरू त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यु भयो र भूकम्पले घाइते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनीहरूले माटो खाँदै गए । भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धा सुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरूले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकुन् यसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरू आउने पुस्तालाई उपहार दिन पाइयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर रहून् ।
प्रदोष व्रत
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।