प्रहरी र कर्मचारीको मिलेमतोमा नक्कली दुर्घटना बनाएर ८१ लाख बीमा ठगी गरेको खुलासा

Share to:

रासंसा/काठमाण्डौ, माघ १,

मुलुकमा नक्कली प्रहरी प्रतिवेदन र सिफारिस पत्र बनाएर दुर्घटना बीमाको ८१ लाख रुपैयाँ ठगी भएको खुलेको छ । नक्कली दुर्घटनाको किर्ते कागजात प्रतिवेदन बनाएर बीमाको रकम ठगी गर्नेमा प्रहरी हबल्दार र कर्मचारीको मिलेमतो पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मुख्य प्रतिवादी बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम खनालको नामको नक्कली हस्ताक्षर र प्रहरीको लेटरप्याड प्रयोग गरी २९ वटा नक्कली दुर्घटना सिफारिस पत्रहरू तयार पारेका थिए । उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा रकम हात पार्न विभिन्न ३० जना सवारी धनी र चालकहरूसँग मिलेर नक्कली दुर्घटनाको प्रपञ्च रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले पर्सा घर भई काठमाडौँको काँडाघारी बस्ने ४४ वर्षीय हरि बुढाथोकीसहित ३१ जनालाई प्रतिवादी बनाउँदै ‘लिखित सम्बन्धी कसुर’ (किर्ते) मा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । यो मुद्दामा जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले हरि बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ । मुद्दा दर्ता भएका अन्य ३० जना हालसम्म फरार छन् । बुढाथोकीले नेपाल माईक्रो इन्स्योरेन्सका कर्मचारी विकेश कुँवर र प्रहरी हवल्दार ध्रुव शाहीसँगको मिलेमतोमा प्रति सिफारिस ३ लाख रुपैयाँका दरले २७ वटा दाबीबाट कुल ८१ लाख रुपैयाँ ठगी गर्ने योजना बनाएको प्रहरीको निष्कर्ष छ । प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तथा दोलखाको कालिन्चोक गाउँपालिका–६ घर भएका ४० वर्षीय धु्रव शाहीसमेत फरार छन् । फरार हुने अन्यमा काठमाडौँकै बा१५प ९६५० नम्बरको सवारीका धनी ३२ वर्षीय सुसन घिमिरे, बाराको निजगढ घर भएका प्रदेश–३–०२–०१० प २२८० नम्बरको सवारीका धनी मनोज कुमार आचार्य, ललितपुर घर भएका बागमती प्रदेश–०२–०५० प ५८०९ नम्बरको सवारीका धनी गंगा महर्जन, ललितपुर नै घर भएका बागमती प्रदेश–०२–०५० प ५८०९ नम्बरको सवारीका धनी कुलबहादुर महर्जन, ललितपुर नै घर भएका बागमती प्रदेश–०२–०२१ प ६४७८ नम्बरको सवारीका धनी २९ वर्षीय प्रवीन महर्जन, ललितपरकी २९ वर्षीया निरुसा महर्जन फरार छन् । गत २०८२ साल भदौ ८ गते प्रहरी निरीक्षक श्याम खनालको किर्ते हस्ताक्षर भएको पत्र फेला परेपछि अनुसन्धान सुरु भएको थियो । सोही क्रममा २०८२ असोज १ गते काठमाडौँको जडीबुटीस्थित सडकबाट हरि बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खानतलासी गर्दा उनको ज्याकेटको भित्री गोजीबाट प्रहरीको चलानी नम्बर उल्लेख भएका नक्कली सिफारिस पत्रहरू र सम्झौताका कागजातहरू फेला परेका थिए । बा४८प ३८७१ नम्बरको सवारीका धनी विनोद डंगोल, ललितपुरका ३० वर्षीय पुकार महर्जन, ललितपुरका ३६ वर्षीय निरोज महर्जन, काठमाडौँका ४२ वर्षीय सुशील अर्याल, सिन्धुपाल्चोकका ४७ वर्षीय दयानाथ धिताल, पर्साका २९ वर्षीय जबिर हुसेन अन्सारी, पर्साकै २७ वर्षीय सृजन पाण्डे, काठमाडौँ गोठाटारका हरिप्रसाद गौतम, सोलुखुम्बुका सुदीप कार्की, गुल्मीकी २७ वर्षीय सुमित्रा अर्याल पनि फरार छन् । सिन्धुपाल्चोककी २५ वर्षीया प्रजुना भण्डारी, गोठाटारका ३३ वर्षीय जयराम चापागाईं, सिन्धुपाल्चोकका ४२ वर्षीय रोमश्वर भण्डारी, पर्साका निरबहादुर भण्डारी, दोलखाका शिव खड्का, गौरीबहादुर बुढाथोकी, खिनबहादुर थपलिया, उर्मिला थापा, सफल सुवेदी पनि फरार छन् । रामेछापका लक्ष्मण तामाङ, काठमाडौँका पवन भट्ट, दोलखाका रामबहादुर कार्की, नेपाल माइक्रो इन्सुरेन्स फाइनान्सका कर्मचारी ललितपुर घर भएका विकेश कुँवर पनि फरार छन् ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सजाय माग गरेको छ । प्रतिवादीहरूबाट किर्ते गरी प्राप्त गर्न खोजिएको ८१ लाख रुपैयाँ बिगो कायम गरी सो रकम असुल उपर गर्न माग गरिएको छ । सरकारी लिखत किर्ते गरेको अभियोगमा दफा २७६ (३) (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साथै पीडित (बीमा कम्पनी) लाई भएको क्षति बापत क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ । प्रहरीले बरामद गरेका २९ थान नक्कली सिफारिस पत्र, मुचुल्का र प्रतिवादीको बयानलाई मुख्य प्रमाणको रूपमा पेस गरिएको छ । यो प्रकरणले बीमा क्षेत्रमा हुने संगठित ठगी र सरकारी कागजातको गम्भीर दुरुपयोग भएको देखाएको छ । बीमा दाबीका लागि प्रहरीको सिफारिस चाहिने हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हबल्दार ध्रुव शाहीसँग सेटिङ मिलाइएको थियो । हबल्दार शाहीले नक्कली सिफारिस पत्र बनाइदिने भूमिका निर्वाह गरेका थिए । पहिलो घटना २०८१ माघ १२ गते बनाइएको थियो । सो दिन मनोज कुमार आचार्यले चलाएको मोटरसाइकलले तारादेवी काफ्लेलाई ठक्कर दिएको भन्ने नक्कली विवरण पेस गरिएको थियो । हबल्दार ध्रुव शाहीले प्रहरी निरीक्षक श्याम खनालको किर्ते दस्तखत र चलानी नम्बर १८०७९ (मिति २०८२÷०२÷०८) भएको सिफारिस पत्र उपलब्ध गराएका थिए । सो पत्र हरि बुढाथोकीले नेपाल माईक्रो इन्स्योरेन्समा बुझाएका थिए । प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार हरि बुढाथोकी र नेपाल माईक्रो इन्स्योरेन्सका कर्मचारी बिकेश कुँवरबिच नक्कली दुर्घटना देखाएर बीमा दाबी गर्ने योजना बनाएका थिए । बुढाथोकीको काम सवारी साधन र सवारी धनीको व्यवस्थापन गर्ने थियो भने कुँवरको काम बीमा दाबी प्रक्रिया मिलाउने थियो । दोस्रो घटना २०८१ फागुन १४ गते बनाइएको थियो । रामहरि गुरुङले चलाएको कारले माया तामाङलाई ठक्कर दिएको भन्ने अर्को नक्कली घटना बनाइएको थियो । यसका लागि पनि हबल्दार शाहीले चलानी नम्बर १८०७७ (मिति २०८२÷०२÷०८) को सिफारिस र मिलापत्रको नक्कली कागज बनाइदिए । यो पनि बीमा कम्पनीमा बुझाइएको थियो ।

Like