आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस (International Migrants Day) मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, पौष ३,

विश्वमा रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ । डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ । संयुक्त राष्ट्रसङ्घको ६९ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् । मन्त्रालयले साताव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने भएको छ । ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने नारासहित २५ औं आप्रवासन दिवस साताव्यापी रूपमा मनाउन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरी पुस्करले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गर्न यो वर्ष विशेष कार्यक्रम गरेर मनाउन लागेको बताए । हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने यो दिवसको नेपालमा यो पटक पुस १ गतेदेखि ७ गतेसम्म मनाइने भएको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘आप्रवासीहरूको योगदानको सम्मान र उनीहरूको अधिकारको संरक्षण’ रहेको छ । सोही आधारमा नेपालले राष्ट्रिय नारा तय गरेको हो । हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने यो दिवसको नेपालमा यो पटक पुस १ गतेदेखि ७ गतेसम्म मनाइने भएको छ। उक्त नारामार्फत श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन कायम गर्ने, श्रमिकको योगदानको उच्च कदर गर्ने तथा उनीहरूको अधिकार संरक्षण गर्दै रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने लक्ष्य लिएको मन्त्रालयले स्पष्ट पारेको छ । दिवसको अवसरमा नेपाली नियोगहरू, प्रदेश र स्थानीय तहले विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्ने । हप्ताभरमा सचिवस्तरीय सन्देशहरू सामाजिक सञ्जालमार्फत प्रवाह गरिनुका साथै पत्रकारहरूसँग अन्तरक्रिया, रक्तदान तथा स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, वाकाथन, अन्तरक्रिया कार्यक्रम वादविवाद प्रतियोगिता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिने । आजदेखि सुरु हुने दिवस पुस ७ गते सकिने मन्त्रालयले जनाएको छ । त्यो अवधिभरमा देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम गर्न लागिएको हो । संघ, प्रदेश, स्थानीय तह तथा सरोकारवाला निकायले दिवसको अवसरमा विभिन्न कार्यक्रम राख्ने मन्त्रालयले जनाएको छ । नेपाल टेलिकम र एनसेलमा कलर रिङ ब्याकमा मूल नारासहितको सन्देश प्रसारण गरिनेछ । त्यस्तै फुटसल, बानेश्वरदेखि बसन्तपुरसम्म वाकाथन, आप्रवासनको व्यवस्थापन तथा पुनएकीकरणका चुनौतीहरू विषयमा अन्तरक्रिया, बादविवाद प्रतियोगिता, वैदेशिक रोजगारीमा जाने कामदारको अधिकार र श्रम अधिकार विषयमा अन्तरक्रिया, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान लगायत कार्यक्रम छन् । मन्त्रालयले दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका प्रवक्ता सह–सचिवको संयोजकत्वमा मूल समारोह कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ ।

Like