सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह
रासंसा/काठमाण्डौ, मार्ग २८,
मुलुकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् । आज (आइतबार) काठमाडौंमा आजपाले ‘संसद् पूनःस्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौंको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सरकारलाई सच्चिएर आफू मूल म्याण्डेटतर्फ ध्यान दिन सुझाव दिए । सरकार बनेको तीन महिना बितेपछि पनि मन्त्रिपरिषद् विस्तारको नाटकमञ्चन गरेर प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन नगर्न प्रपञ्च रचेको साहको आरोप छ । वर्तमान सरकार जेन–जीहरुको भावनाविपरित चल्न थालेको र एकपछि अर्को गरेर गलत निर्णय लिन थालेको भन्दै साहले आलोचना गरेका हुन् । उनले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्री कार्कीको ध्यानाकार्षण गराए । उनले प्रतिनिधिसभा पूनःस्थापनाको लागि भइरहेको षड्यन्त्रको पर्दाफास गर्न र देशव्यापी रुपमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए । एमालेको केपी ओली समूह र कांग्रेसको शेरबहादुर देउवा समूहले प्रतिनिधिसभाको चुनाव नचाहेको र संसद् पूनःस्थापनको लागि षड्यन्त्रको तानाबाना बुनेको बेलामा प्रधानमन्त्री कार्कीपनि उनीहरुकै सहयोगीको भूमिकामा देखिन थालेको आभाष भएको साहको टिप्पणी छ । साहले सरकार र जेन–जीहरुबीच भएको पछिल्लो सम्झौतापनि धोकाको दस्तावेज भएको टिप्पणी गरे । उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मूल मर्म र भावनामाथि पटक पटक प्रहार गरेकोमा पछिल्लो पटक सम्झौताको नाटक देखाएर अर्को धोका दिएको आरोप लगाए । उनले जेनजीहरुले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना होस भन्ने चाहेको भएपनि सरकारले त्यसअनुसार हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आक्रोश पोखे । ‘जेनजी आन्दोलनमा दमन गरेका केपी ओलीहरुले संसद् पूनःस्थापनाको षड्यन्त्र गरिरहेका छन्, कांग्रेसमा देउवा ग्याङ् ओलीकै पुच्छर बनेर अदालत धाउन थालेको छ । अनि प्रधानमन्त्री पनि उनीहरुकै डिजाईनमा हिँड्न खोजेको संकेत देखियो, होईन भने कसको स्वार्थमा चार जना मन्त्रीहरु थप्नुभयो, के आधारमा नियुक्त गर्नुभयो ?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘विषयविज्ञता एउटा भएको र नियुक्ती अर्कैमा दिइएको भन्दै अहिलेको पछिल्लो मन्त्रिपरिषद् विस्तारमा पनि प्रधानमन्त्री कार्की स्वार्थसमूहको प्रभावमा परेको देखिन्छ । यस्तै पाराले चुनाव हुन्छ त ? चुनाव गराउने अर्जुनदृष्टि राख्नुहोस, विचौलिया र स्वार्थसमूहको प्रभावमा नपर्नुहोस ।’ उनले सरकारमा बसेर हाली मुहाली गर्ने अनि आफ्नो दुनो सोझ्याउने काममा तल्लिन कुलमान घिसिङलाई तुरुन्तै बर्खास्त गर्नसमेत माग गरे । निर्दलीय सरकारमा बसेर दल खोल्ने अनि दलको प्रचारको लागि सरकारी साधन–स्रोतको चरम दुरूपयोग गरेर मन्त्री कुलमानले नेपाली जनतालाई झुक्याउने काम गरेको भन्दै प्रधानमन्त्रीले तत्काल उनलाई बर्खास्त गर्नुपर्ने पनि साहले सुझाव दिए । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षमा भएको सो भेलामा आजपा सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषी धमला, संविधान सभाका अर्का सदस्य योगेन्द्र घिसिङ, सचिवालय सदस्य बालकृष्ण सापकोटा, कबाडव्यवसायीका नेता रामकेवल गुप्ता, सुकुम्बासी संघका महासचिव एमडी सतार लगायतको विशेष सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।