मोहिनी एकादशी व्रत, विश्व रेडक्रस दिवस
रासंसा/काठमाण्डौ, बैशाख २५,
ओम नमो भगवते वासुदेवाय नम:
वैशाख महिनाको शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महत्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुटकारा पाइन्छ मान्यताअनुरूप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो । वैशाख शुक्ल पक्षको एकादशी तिथिमा भगवान् विष्णुले मोहिनीको रूप धारण गरेका हुनाले यो एकादशीलाई मोहिनी एकादशी भनिन्छ । मोहिनी एकादशीको व्रत र भगवान् श्रीहरि विष्णुको आराधना गर्नाले पाप, कष्ट, लोभ र आशक्तिको नाश हुन्छ । वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ । अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ । किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि । धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ । यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।
विश्व रेडक्रस दिवस
आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ । रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ। ‘Keeping Humanity Alive’ मानवतालाई जीवित राख्ने भन्ने अर्थका साथ वर्ष २०२५ को रेडक्रस दिवस विश्वभर मनाइदैछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माण हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ।
रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन्:
१. मानवता २. निष्पक्षता ३. तटस्थता ४. स्वतन्त्रता ५. स्वयंसेवा ६. एकता
७. सर्वव्यापकता । हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थुप्रै नामहरूका अतुलनीय योगदानहरू पनि आउँदछन्, मानव सेवा कालागि जीवन समर्पण गर्ने रेडक्रसका संसारभरका स्वयंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यकता छ ।