समग्र संरचनामा नै हेरफर मुलुकको आवश्यक – पूर्व राजा ज्ञानेन्द्र
रासंसा/काठमाण्डौ, भैशाख १,
मुलुकमा पूर्व राजा ज्ञानेन्द्र शाहले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । पूर्वराजा शाहले घुमाउरो पाराले वर्तमान शासन प्रणाली र राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ शासन व्यवस्थामा जानुपर्ने र त्यसमा राजसंस्थालाई पनि स्पेस दिनुपर्ने संकेत गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको दाबी गर्दै भन्नुभयो– ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मञ्जुरी सदैव स्थापित हुनु पर्दछ ।’ नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास लिइएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । ‘सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनु पर्दछ ।’ आफ्नो शुभकामना सन्देशमा शाहले भन्नुभएको छ । पूर्व राजा शाहले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र बनाउनुपर्ने र सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार भएको र यही नै राजनीतिको मूलधार हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुनखालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’ शाहले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । शाहले समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको बताउँदै त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने बताउनुभयो ।, तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको घट्नाका बारेमा बोल्दै पूर्व राजा शाहले जनप्रदर्शनमा भएको हिंसा, आगजनी, तोडफोड, मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । शाहले नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय रहेको उल्लेख गर्दै देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता पैदा हुनु सकारात्मक भएको र नयाँ वर्षमा २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । ‘प्रकृतिले स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशमै स्वर्ग भन्ने अभियान चलाउनु आजको आवश्यकता भएको छ ।’ पूर्व राजा शाहले जोड दिँदै भन्नुभएको छ । उहाँले सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने बताउनुभयो । ‘हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएको सन्दर्भ उल्लेख गर्दै शाहले बढ्दो युवा पलायनलाई रोकी युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।’ –पूर्र्व राजा शाहले भन्नुभएको छ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ ।’ पूर्व राजा शाहले भन्नुभयो । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि आफ्नो चिन्ताको प्रमुख कारण रहेको औंल्याउँदै शाहले भन्नुभएको छ ‘नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । पूर्व राजा शाहले संसार धेरै अघि बढे पनि हामी भने यो वा त्यो वादको चक्रमा फसेको उल्लेख गर्दै नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार र कदम चालिनुपर्नेमा जोड दिनुभएको छ । शाहले हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्नेमा जोड दिनुभयो ।