प्रवर्द्धन गर्नुपर्ने स्थानीय उत्पादनलाई बागलुङ नगरको कर चैत्राष्टमी मेला २०८१

Share to:

रासंसा/बाग्लुंग, चैत्र २२,

मुलुकमा जिल्लाको बडिगाड गाउँपालिका-४ जलजलाका ससिराम विक चैते दशैं मेला हेर्न र डाली नाङ्लो बेच्न बिहीबार बागलुङ बजार आइपुगे। मेलामा आइपुग्नाथ उनलाई पहिलो गाँसमै ढुङ्गा भनेझैं भयो। बागलुङ नगरपालिका-१ कालिका मन्दिर गेट नजिकैको कुनामा डाली लाङ्लाको भारी मात्रै के बिसाउन पाएका थिए बागलुङ नगरपालिका राजस्व शाखाको टोली नगर प्रहरीसहित आइपुग्यो अनि पटके कर भनेर पाँच सय रुपैयाँको रसिद थमायो। बागलुङ र चैते दशैं मेलाको पहिचान बनेको डाला नाङ्ला र ठेका भाँडालाई समेत कर उठाएर बागलुङ नगरपालिको ठीक नगरेको उनको गुनासो छ। ‘म आफैँले चैते दशैं मेलामा सामान ल्याएर बेच्न थालेको ३०-३५ वर्ष भयो यसरी पैसा तिर्न परेका थिएन,’ उनले भने, ‘गाउँबाट यहाँसम्म आइपुग्दा साढे पाँच हजार एक जनाको खर्च भएको छ, यो रसिद काटियो ६ हजार पुग्यो। यहाँ बसुन्जेल ६ हजारको व्यापार हुन्छ हुँदैन थाहा छैन।’ जीपको छतमा हालेर सामान ल्याउँदा महङ्गो भाडा तिरेर आउनु परेको पनि उनको गुनासो छ। निगालोको चोयाँबाट स्थानीय र लोपोन्मुख सामग्री निर्माण तथा बिक्री वितरण गर्ने उनले अहिलेसम्म कतै पनि यस्तो कर तिर्नु परेको थिएन। नगर प्रहरीसहितको टोली आएपछि उनले चुपचाप पाँच सय रुपैयाँ बुझाए। ससिराम भन्छन्, ‘स्थानीय उत्पादन भनेर हामीलाई त जहाँ पुगेर बिक्री गरे पनि पैसा लाग्दैनथ्यो, मैले बुटवल गएर बेचेँ, रिडी, शान्ति लगायत ठाउँ-ठाउँमा गएर बेचेँ। अहिले आफ्नै जिल्लामा सामान झार्न नपाउँदै पाँच सय तिर्नुपर्‍यो।’ ‘गाउँबाट खर्बाङ बजार झर्दा नै समानसँग भनेर प्रतिव्यक्ति पन्ध्र सय लियो, खर्बाङबाट बागलुङ आएको त चार हजार खर्च भैहाल्यो। यहाँ पनि नगरपालिकाले माग्यो,’ उनी भन्छन्, ‘जताततै पैसा तिर्दै आएका छौं। व्यापार के हुने हो थाहा छैन।’ बागलुङ नगरपालिका-१२ अमलाचौरका अशोक खड्काले काठको ठेका भाँडा लिएर सडक छेउमा बसेका छन्। उनको स्टलमा नगरपालिका राजस्व शाखाको टोलीले पटक पटक राजस्वको रसिद काट्न खोजिरहेको छ। उनले विभिन्न बहाना बनाएर टारिरहेका छन्। मेलाको आयोजक संस्था बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनको व्यापार र प्रवर्द्धन गर्ने भन्दै स्टल राखेको पैसा लिएको छैन। गाउँ-गाउँबाट स्थानीय उत्पादन लिएर आउन आग्रह गरिएको भन्दै मूल संयोजक कुमार खड्काले स्थानीय उत्पादनका वस्तुहरू बिक्री वितरण नभए आउने जाने यातायात खर्च समेत गुठीले व्यहोरिदिने गरी आउन आग्रह गरेको बताए। उनी भन्छन्, ‘मैले त काठमाडौँ, पोखरा, चितवन लगायतका ठाउँमा पनि यी भाँडाहरूले लगेर जान्छु, त्यहाँको मेला त उल्टो खान बस्नको व्यवस्था गरेर बोलाउँछन्। यहाँ भने नगरपालिकाले पैसा माग्न आएको आइ छ। मैले मालिक हुनुहुन्न भनेर टारेको छु।’ नगरपालिको कर मात्रै उठाउन खोजेको तर शौचालयको पनि व्यवस्था नभएको उनको गुनासो छ। ‘हामीलाई ट्वाइलेट लाग्यो भने त्यहाँ व्यक्तिको पैसा तिरेर जानुपर्छ,’ उनले भने, ‘हाम्रो खानेबस्ने कुनै ठेगान छैन। सामानको बिक्री छैन। नगरपालिकाले पटक-पटक पैसा मात्रै माग्न आउँछ। अलि-अलि सुविधा पनि दिए त हामीलाई पनि सजिलो हुन्थ्यो।’ ‘हामीले स्थानीय उत्पादन प्रवर्द्धन र व्यापार बढाउने भनेर स्टलको पैसा लिएका छैनौँ, उहाँहरूको सामान बिक्री नभएर घर फर्किन नै समस्या पर्ने भयो भने यातायात खर्चको समेत व्यवस्था गर्छौँ भनेको छौँ,’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने भन्ने नै हाम्रो उद्देश्य हो।’ स्थानीय उत्पादनलाई कर नलिन नगरपालिकासँग आग्रह गरेको उनले बताए। बागलुङ नगरपालिका राजश्व शाखा प्रमुख सरस्वती रेग्मीले भने राजस्व ऐनमा उल्लेख भए अनुसार पटके कर लिएको बताइन्। ‘हामी त कर्मचारी हौँ, ऐन कानुनमा लेखिएको कुरा कार्यान्वयन गर्ने हो, हाटबजार पटके कर भने ठेका भाँडा, डाला नाङ्लालाई पनि पाँच सय उठाउने भनेर उल्लेख गरेको छ। हामीले त्यही अनुसार काम गरेका हौँ,’ उनले भनिन्। बागलुङ नगर राजस्व परामर्श समितिका संयोजक एवं उपप्रमुख राजु खड्काले स्थानीय उत्पादनसँग राजस्व लिएको विषयमा सहजीकरण गर्ने प्रतिक्रिया दिए। ‘हामीले म कालिका मन्दिर अध्यक्ष हुँदा पनि स्थानीय उत्पादनलाई कर नलिने भनेका थियौँ, तपाई‌ंले मलाई बेलैमा यो कुरा याद दिलाउनुभयो,’ उनले भने, ‘स्थानीय उत्पादनका वस्तु लिएर आउनुभएकाहरूलाई कर छुट गराउने विषयमा हाम्रो ध्यान जान्छ।’

Like