ओम अस्पतालविरुद्ध उपभोक्ता अदालतमा पहिलो दिनमै मुद्दा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ४,

मुलुकमा उपभोक्ता अदालत खुलेको पहिलो दिनमा काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (ओम अस्पताल)विरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता भएको छ । चिकित्सकको लापरबाहीका कारण अपूरणीय क्षति पुगेको भन्दै भाँचिएको खुट्टा पनि नभाँचिएको भनी बिरामीलाई पेनकिलर दिएर घर फर्काइएकाले बिरामीको मृत्यु भएको भन्दै मुद्दा दर्ता भएको हो । अस्पतालको आकस्मिक कक्षमा रहेका डा. सायुज्यराज घिमिरे र डा. सरोजकुमार गोहियारले एक्स–रे हेरेर ‘खासै केही भएकै होइन, सामान्य छ’ भन्दै दुखाइ कम गर्ने औषधि दिएर डिस्चार्ज गरेको फिरादमा उल्लेख छ । घर पुगेर औषधि सेवन गरेको चार दिनपछि पनि दुखाइ कम नभएपछि ह्याम्स अस्पतालमा ओमकै एक्स–रे देखाउँदा त्यहाँका चिकित्सकले हड्डी भाँचिएको (फ्य्राक्चर) भएको बताएका थिए । ह्याम्समा सीटी स्क्यान गर्दा त्यहाँ माइनर फ्य्राक्चर बढेर ससाना टुक्राहरू भएर गम्भीर क्षति पुगेको पत्ता लाग्यो । सो मुद्दामा अस्पतालको लापरबाहीका कारण आफन्तको ज्यान गएको दाबी गरी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पीडितले माग गरेका छन् । अदालतमा दर्ता भएको फिराद पत्रअनुसार काठमाडौंको बूढानीलकण्ठ–९ बस्ने ९८ वर्षीय हरिहरप्रसाद गौतम शौचालय जाने क्रममा लडेपछि गत ५ माघमा उनलाई अस्पताल लगिएको तर एक्स–रे गरेर हेरेपछि ओम अस्पतालका चिकित्सकले सबै ठीकठाक छ भन्दै सामान्य पेनकिलर दिएर घर पठाएका थिए । ह्याम्सका चिकित्सकले पहिलो दिनभन्दा अहिले धेरै क्षति पुगेको बताउँदै पहिलाकै अवस्थामा सही उपचार गर्न पाएको भए आराम गरेर मात्रै जोडिने सम्भावना भए पनि अब गम्भीर क्षति भइसकेकाले शल्यक्रिया वा स्केलेटर ट्र्याक्सन (पिन तथा तारहरू राख्ने) विधि अपनाउनुपर्ने जानकारी दिए । उपचारमै रहेको अवस्थामा ३ फागुन २०८१ मा बिरामीको मृत्यु भयो । एक्स–रे राम्रोसँग नहेरी भाँचिएको खुट्टा नभाँचिएको भनेर घर पठाएको र सोही कारण यति ठूलो क्षति बेहोर्नुपरेको भन्दै हरिहरप्रसाद गौतमका छोरा वसन्त गौतमले मुद्दा दायर गरेका हुन् ।शल्यक्रिया गर्दा वृद्ध अवस्थाको व्यक्तिमा निमोनियालगायत अन्य स्वास्थ्य जटिलता आउनसक्ने र ज्यानकै जोखिम पनि हुनसक्ने ती चिकित्सकले चेतावनी पनि दिए । त्यसैले उमेरका कारण बढी जटिलता आउन नदिन बाध्यतावश स्केलेटर ट्र्याक्सन विधि अपनाई उपचार अघि बढाइयो ।

Like