मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला, पुर्व राजा ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २२,

मुलुकमा प्रमुख तीन दलका शीर्ष नेताले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् ।संयोग नै मान्नुपर्छ ओली, देउवा र प्रचण्ड बिहीबार मधेस प्रदेशको एक जिल्ला महोत्तरी पुगेर पूर्व राजा र उनी पक्षधरलाई यस्तो चेतावनी दिएका हुन् । तीनै जना नेता छुट्टाछुट्टै कार्यक्रमका लागि बिहीबार महोत्तरी पुगेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैदिन पूर्व राजा शाह र उनका समर्थकहरुलाई राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले अलिकति टाउको निकालेजसो गर्ने र अप्ठ्यारो परे फुत्त तानेर लुकाउने गर्ने गरेको भन्दै राजनीति गर्न मन भए पार्टी खोलेर चुनाव लड्न चेतावनी दिए । प्रधानमन्त्री ओलीले देशमा सामन्ती राजतन्त्र, कोही जन्मिँदै राजा हुने र कोही जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने प्रणाली अब नेपालमा नहुने बताए । नेपाली जनताले फालेको राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको भन्दै प्रधानमन्त्रीले मानिसहरू कुर्सीमा बस्दा राजा हुने दिन गएको दाबी गरे । ‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस्, तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । चुनाव लड्नुस्, पार्टी खोल्नुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस्’, ओलीले भने, ‘मेरो पार्टी भन्नुस् न अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने ?’ ’उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ?’, उनले भने– कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् संविधान अनुसार आउनुस् चुनाव लड्नुस्, आउनुस् पार्टी खोल्नुस् ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा कार्यकर्ता भेटघाटका क्रममा देउवाले पूर्वराजा शाह स्वयं कारक भएर गणतन्त्र आएको र अब उनको कुनै स्थान नरहेको बताए । ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे’, सभापति देउवाले भने, ‘ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहले पहिला पनि मूर्खता गरेको र अब फेरि त्यस्तो मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । साथै उनले शाहलाई नागरिक नागरिकको रूपमा पार्टी खोलेर चुनाव लड्न सुझाव दिए । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले केही मान्छे उचाल्दैमा इतिहास फर्किन्छ भनेर सोच्नु मूर्खताबाहेक केही नहुने पनि बताए । ‘ज्ञानेन्द्रले पहिला पनि मूर्खता गरिसकेका छन् फेरि अर्को मूर्खता गर्ने दुस्साहस नगरुन् मेरो सुझाव छ ।’ ‘फेरि उनले मूर्खता गरे भने त्यसको ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । जनता मान्नेवाला छैनन् ।यो कुरा बुझे हुन्छ’, प्रचण्डको भनाइ छ । त्यस्तै उनले नेपाली जनताको बलबाट गलहत्त्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताए । कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास पनि जनताले नै गर्ने प्रचण्डको भनाइ छ ।

Like