एकीकृत समाजवादी बैठकमा प्रमेश, प्रकाश, प्रेम, किसानलगायतका नेता अनुपस्थित
रासंसा/काठमाण्डौ, फाल्गुण ९,
मुलुकमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तर, बैठकमा प्रमेश हमाल, प्रकाश ज्वाला, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू उपस्थित छैनन्। प्रमेश हमाल, बलाराम बाँस्कोटालगायतका नेताहरू ब्राजिल गएका छन्। उनीहरू सल्लाहमै त्यतातर्फ गएको अर्यालले बताए। यस्तै प्रकाश ज्वाला पनि संस्थागत कामकै कारण अष्ट्रेलिया पुगेका छन्। उनी पनि पार्टीसँगकै सल्लाहमा त्यता गएका हुन्। किन उपस्थित भएनन् भन्ने नागरिकको जिज्ञासामा पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने, ‘कतिचाहिँ पार्टीकै कामले देश बाहिर हुनुहुन्छ, कतिको व्यक्तिगत काम होला। भोलि आउनुहोला।’ प्रेम आले केन्द्रीय सदस्य छैनन्। तर, कतिपयले बैठकमा उनलाई खोजेको बताइएको छ। गत असारमा सम्पन्न पार्टीको महाधिवेशनका बेला उनी भारतमा थिए। त्यसकारण महाधिवेशनमा सहभागी हुन पाएनन्। किसान श्रेष्ठ भने गत महाधिवेशनमा सक्रिय रहेको तर, त्यसयता पार्टीमा निष्क्रिय रहेका नेता हुन्। महाधिवेशनमा उनले पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्वाचित हुनुपर्ने माग राखेका थिए। तर, पछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चुनिए। तर, पार्टीले महाधिवेशन प्रतिनिधिलाई मात्रै केन्द्रीय कमिटीमा निर्वाचित तथा मनोनीत गर्ने नीति लियो। यसकारण उनी छुटे। यसपछि पनि श्रेष्ठले बाँकी पदाधिकारी र सदस्यमा निर्वाचन हुनुपर्ने माग गरेका थिए। पछि बाँकी पदाधिकारीमा त निर्वाचन भयो तर, सदस्यमा भएन। त्यसपछि महाधिवेशन हलबाटै अध्यक्ष माधवकुमार नेपालले ९३ केन्द्रीय सदस्यको नाम घोषणा गरे। त्यसमा श्रेष्ठ परेनन्। बारामै रहेका उनलाई भोलिको बैठकमा जानुहुन्छ भनेर जिज्ञासा राख्यौँ। जवाफमा श्रेष्ठले टुङ्गो नभएको बताए। ‘जानुपर्छ कि जस्तोचाहिँ लागेको छ। खै के हुन्छ हेरौँ,’ उनले भने। त्यसयता उनी पार्टीमा निष्क्रिय छन्। किन आज सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुभएन भन्ने जिज्ञासामा उनले भने, ‘पहिलो कुरा त म गलेको छु। प्रयागराजबाट आज मात्रै आएको हुँ। अर्को कुराचाहिँ म पार्टीमा सन्तुष्ट पनि छैन। एकीकृत समाजवादीकै सांसद छु, केन्द्रीय सदस्य पनि छु। तर, सन्तुष्ट छैन।’