आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ९,

हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को सम्भावित विषयवस्तु “Make Languages Count for Sustainable Development” “दिर्घकालिन विकासका लागि भाषाहरूलाई महत्त्व दिऔं” रहनेछ । यस वर्षको दिवस २५औं वार्षिकोत्सवको रुपमा मनाइने भएकाले यसले भाषागत विविधता र बहुभाषिकताको महत्त्वलाई उजागर गर्दै विश्वव्यापी विकास लक्ष्य हासिल गर्न यसको योगदानलाई जोड दिनेछ। भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो । नेपाल बहुभाषी देश हो । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो । नेपाली भाषा सम्पर्कको भाषा पनि हो । सबै नेपालीले नेपाली भाषा बोल्न र बुझ्न सक्दछन् । प्राचीन नेपालमा किराँत, संस्कृत, पाली आदि भाषा र ब्राम्ही, सिरिजंघा, देवनागरी, रन्जना आदि लिपि विकसित हुँदै गएको पाइन्छ । मुसलमान व्यापारीको प्रवेशपछि मध्यकालमा उर्दू र फारसी भाषाको प्रयोग हुन थालेको पाइन्छ । दरबारमा संस्कृत, मैथिली, बङ्गाली, भोजपुरी, अवधी र पर्वते (नेपाली) भाषाका ज्ञाताहरू पनि थिए भन्ने कुरा इतिहासबाट प्रष्ट हुन्छ । उत्तरार्धमा संस्कृत भाषाको विकास अन्य भाषाको दाँजोमा अत्यधिक मात्रामा भएको पाइन्छ । जयस्थिति मल्लको उदय भएपछि मध्यकालमा नेवारी भाषाको पनि लिखित रूपमा सुरुआत भएको हो । यसकालमा नेपालमा अन्य विभिन्न भाषाहरू भएपनि लिखित रूपमा तिनीहरूको वर्चस्व भेटिएको छैन ।

Like