एक जनाको नाम छान्ने प्रयासमा कांग्रेस ‘संस्थापन समीकरण’ बनाइने

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ७,

मुलुकमा नेपालि कांग्रेस सभापति शेरबहादुर देउवा बाहेकका नेपाली कांग्रेसका नेताहरूलाई १५औं महाधिवेशन लागिसकेको छ। विधानत: अबको १० महिनाभित्र भइसक्नुपर्ने १५औं महाधिवेशनका लागि डा. शेखर कोइराला, गगन थापाहरू आफ्नै तरिकाले तीव्र तयारीमा जुटिसकेका छन्। यसमा पनि विमलेन्द्र, प्रकाशमान र शशांकले यसअघि नै दुईपटक ‘लञ्च मिटिङ’का नाममा महाधिवेशनकेन्द्रित छलफल गरिसकेका छन्। त्यसमा कृष्णप्रसाद भने छुटेका थिए। तर, अब भने त्यस्ता लञ्च मिटिङहरूमा उनलाई पनि मिसाउने तयारी रहेको नेताहरूले बताएका छन्। यस बाहेक सभापतिका आकाङ्क्षी अन्य नेताहरूलाई पनि महाधिवेशन लाग्न थालेको छ। यसमा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि-प्रकाशमान सिंह र पूर्वमहामन्त्रीद्वय शशांक कोइराला-कृष्णप्रसाद सिटौला छन्। १५औं महाधिवेशनमा विधानत: देउवाले सभापतिको उम्मेदवार बन्न नपाउने भएपछि मुख्यत: यिनै ६ नेताहरूको दाबी रहने निश्चित छ। त्यस बाहेक गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायतका नेताहरू पनि छन्। तर, उनीहरू यी नेताहरूको लाइनमा छैनन्। हुन त गोपालमान कांग्रेसको कार्यवाहक सभापतिसमेत भइसकेका नेता हुन्। तर, उनले त्यति ‘स्ट्रोङ’ दाबी गरेका छैनन् र उनले स्वत: आफूले पाउनुपर्ने बताउने गरेका छन्। जुन, सम्भव देखिँदैन। किन पनि भने कांग्रेसमा बलियो प्रतिस्पर्धा नै हुने गर्छ। विजयकुमार पनि पूर्वउपसभापति त हुन्। तर, उनी सभापतिको लाइनमा देखिएकै छैनन्। त्यस बाहेक विमलेन्द्र, प्रकाशमान, शशांक र कृष्णप्रसादका बीचमा भने ‘संस्थापन समीकरण’ बनाउने र त्यहाँबाट एकजना मात्रै सभापतिको उम्मेदवार छान्ने ‘भद्र सहमति’ हुने नेताहरू बताउँछन्। यसबारे विमलेन्द्रले भनेका छन्, ‘अब कृष्णप्रसाद सिटौलालाई पनि बैठकहरूमा सहभागी गराउने र चारमध्ये एक जनालाई मात्रै अगाडि बढाउने सहमति गर्ने काम हुन्छ।’ यसो हुँदा १५औं महाधिवेशनमा शेखर, गगन, विमलेन्द्र, प्रकाशमान, शशांक र कृष्णप्रसादका बीचमा नै मुख्य प्रतिस्पर्धा देखिने कुरामा दुईमत रहेन। यसमा पनि शेखर र गगन ‘ब्याक’नहुने गरी अगाडि बढेका देखिन्छन्। त्यस समीकरणमा अन्य नेताहरूलाई पनि सहभागी गराउँदै जाने नीति नेताहरूले लिएका छन्। गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारलगायतका पूर्वपदाधिकारीहरू समेट्ने र सबैको सहमतिमै यी चार जनामध्ये एक जनाको नाम छान्ने नेताहरूले बताएका छन्। कृष्णप्रसाद पनि १४औं महाधिवेशनमा देउवालाई समर्थन गरेका नेताहरू एक ठाउँ उभिनुपर्ने पक्षमा छन्। नागरिकसँग उनले भने, ‘मेरो आफ्नो कुराचाहिँ के भने १४औं महाधिवेशनमा हामी जो-जो शेरबहादुरजीको पक्षमा उभियौँ, ती सबै साथीहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हो। तर, अगाडि कसलाई बढाउने भन्ने कुराचाहिँ अलिक छिटो भयो। म यसबारे अहिल्यै केही बोल्दिनँ। व्यापक रूपमा छलफल हुनुपर्ने भन्नेमै छु त।’ त्यसो त देउवाले कसलाई समर्थन गर्लान् ? उनले यसबारे बोलिसकेका छैनन्। यद्यपि, नेताहरूले यसबारे बोल्न दबाब भने दिएका छन्। यसअघि गत गत फागुन २ गते यिनै चार नेताहरूको साथमा अन्य ६ नेता उनकै निवास बूढानीलकण्ठ पुगेर शेखर र गगनको सक्रियतालाई देखाउँदै ‘तपाईंको धारणा के हो ?’ भनेर सोधेका थिए। त्यही बेला देउवाले ‘सल्लाह गरेर एक जनाको नाम लिएर आउनु’ भनेर भनेको बताइन्छ। उसो त यो समूहबाट छनोट हुने सभपातिको उम्मेदवारलाई संस्थापन (शेरबहादुर देउवा) ले समर्थन गर्ने जनाउ दिइसकेको बताइन्छ। एक नेताले नागरिकसँग भने, ‘सभापतिले सल्लाह गरेर पार्टी ह्यान्डिल गर्न सक्ने मान्छे छान्नु, मेरो समर्थन हुन्छ भन्नुभएको छ। हामी त्यसकै अभ्यासमा छौँ।’ यो समीकरणबाट छनोट हुने नेताले सभापतिका लागि देउवाबाट समर्थन मिल्ने ती नेताको दाबी छ। ‘सभापतिका आकाङ्क्षी नेताहरूका बीचमा व्यापक छलफल गरेर एक जनाको नाम लिएर सभापतिकहाँ गएपछि त्यसले स्वत: समर्थन पाउँछ,’ ती नेताले भने। यसअघि सुरुमा शेखर र त्यसपछि गगन संस्थापन बन्ने प्रयासमा थिए। तर, देउवाले खास ‘भाउ’ नदिएपछि उनीहरू आ-आफ्नो ढङ्गले सभापतिको तयारीमा लागेका छन्। तर, गगनको दाउ भने अझै संस्थापन बन्ने नै रहेको उनी निकट नेताहरूले बताउँदै आएका छन्।

Like