अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई विशेष निगरानीमा भइरहेको छ उपचार

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ३,

मुलुकमा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरू भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए। उनीहरूको उपचारमा प्रा.डा. वि.डी. झा, डा. प्रविण गिरी, प्रा.डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्याल खटिएको अस्पतालले जानकारी दिएको छ। त्यस्तै निर्सिङ टोलीतर्फ रिना गौचन, निर्मला कुँवर र तृष्णा महर्जन खटिएका छन्। उनका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन भएको छ। अनुहारमा जलन भएकाले दुवै जनालाई उच्च निगरानीमा उपचार गरिएको निर्देशक नकर्मीले जानकारी दिए। अनुहारको जलनले स्वासनली र फोक्सोमा समेत असर पर्नसक्ने भएकाले उच्च सावधानी अपनाइएको उनले बताए। शनिबार विहान पोखरामा ‘पोखरा भ्रमण वर्ष’को उद्‍घाटनका दौरान बेलुन पड्केर उनीहरू घाइते भएका थिए। उनीहरूलाई पोखरामा प्रारम्भिक उपचार गरेर काठमाडौं ल्याइएको थियो। अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

Like