आज विश्व रेडियो दिवस, कुम्भ संक्रान्ति

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १,

मुलुकमा आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले विश्व रेडियो दिवस को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्त्वपूर्ण योगदान छ । रेडियो र विश्वास भन्ने नाराका साथ आज विश्वभरि विश्व रेडियो दिवस मनाइँदै छ । रेडियोको विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२५ को विश्व रेडियो दिवसले “Radio and Climate Change” भन्ने नारा अँगालेको छ । सन् २०११ मा UNESCO ले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदान स्वरूप यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरूको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस को रूपमा मनाउने घोषणा गरेको हो । र यसकै निरन्तरता स्वरूप आज १२ औं विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससँग जुटेका अर्बौँ श्रोताका लागि विशेष बनेको छ । रेडियोले एउटा इतिहास बोकेको छ, सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भुत आविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनि तार विहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलो हर्जसम्मको ध्वनि तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधि बाहिरका रेडियो तरङ्गहरूलाई हामी रेडियो मार्फत सुन्दछौँ । यस वर्षको विषयवस्तु र नारा नै रेडियो र जलवायु परिवर्तन रहेको छ। २०२५ एक महत्त्वपूर्ण वर्ष हो किनभने यही वर्ष पेरिस सम्झौता लागू हुनेछ यद्यपि यस सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले हालसालै संयुक्त राज्य अमेरिकालाई बाहिर निकालेका छन्। विकसित देशको जलवायु परिवर्तन प्रतिको लगानी पैरवी गर्नका लागि भए पनि यस वर्षको रेडियो दिवसको नाराले यस खाका पाएको हो । नेपाली परिवेशमा पनि त रेडियोको बेग्लै विशेषता छ । रेडियो नेपालमा पाण्डव सुनुवारको फोन टाइम, जयन्ती माला राज भण्डारीको तपाई यो गीत गाउनुस्, राजधानीको सन्देश, दीपक दीपाको राम विलास धनियाँ लगायत अन्य थुप्रै कार्यक्रमहरूको स्वाद र याद अझै ताजा हुने हामी धेरै जना छौँ । समाचार वास्तवमै सही हो कि हैन भनेर रेडियो नेपालको घटना र विचार र समाचार सुनेर मात्र ठम्याउने, रेडियो सँगै हाँस्ने र रुने एउटा जमात अझै पनि चलायमान छ । नेपाली राजनैतिक परिवृत्त र आन्दोलनका श्रृखलाहरु मा पनि नेपाली रेडियोको भूमिका अतुलनीय छ । ७ सालको क्रान्तिमा रेडियो नेपालको भूमिका, ४६ साल, जनयुद्धका डोके रेडियोहरू मार्फत पढिने छापामारका पत्रहरू देखि एफएम र गीतका फर्माइस, अनि आज आएर गरिने पोडकास्टहरु सम्म रेडियोका विभिन्न स्वरूपहरू नै हुन् । बढ्दो प्रविधिसँगै अन्य धेरै सञ्चारका साधनहरू थपिए तर रेडियोको एकतमासको स्नेह हामी सबैलाई नै छ । भूकम्पको बेला रेडियोको भूमिका फेरि पनि नेपालमा उत्तिकै देखियो, विसं २०७२ को महाभूकम्पमा अन्य सञ्चारका साधनहरूमा प्रतिकुलता आए पनि रेडियो नेपालमा आआफ्नो ठाउँ वाट फोन गरेर या सन्देश टिपाएर समाचार दिने गर्दा धेरै हदसम्म क्षतिको अनुमान र उद्धार कार्य सम्मले सही दिशा पायो । शर्टवेब, मिडियमवेब हुँदै फ्रिक्वेन्सी मोडयूलेशन अर्थात् एफएम सम्म आइपुगेको नेपाली रेडियोको हरेक स्वरूपमा अनेक पुस्ताहरूको अनुभव र याद लुकेको छ । रेडियो एउटा यन्त्र या साधन मात्र नभई एउटा विश्वास पनि हो । यस वर्ष रेडियो र विश्वास को अवधारणा वरिपरि रहेर विश्व रेडियो दिवसको संस्करण मनाँइदैछ । सबै जनालाई यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
कुम्भ सङ्क्रान्ति
फाल्गुनको यो सङ्क्रान्तिले अर्थात् फाल्गुने सङ्क्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ । हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रँङ्गीन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई सङ्क्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ । हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका बिरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट बिरुवाहरूमा मञ्जरी पलाउनेछिन् । ६ महिनासम्म देखिने बाक्ला हरियो वसन्त र बालीनालीले पहेँल पुर पारेका मैदानहरूले सबैमा नयाँ उमङ्ग अनि उत्साहको बीजारोपण गर्न सकोस् । बङ्गलादेशीहरू आज विभिन्न पारम्परिक मिष्ठान तथा भोजनहरू तयार पारी आज ‘पोहेला फाल्गुन’ अथवा ‘वसन्तो उत्सव’ मनाउने गर्छन् । बङ्गाली भाषामा पोहेला भनेको प्रथम हो, यस अर्थमा फाल्गुनको प्रथम दिन अर्थात् सङ्क्रान्तिका रूपमा मनाइएको प्रस्ट हुन्छ । आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा वसन्त ऋतुको स्वागत गरेर मनाइने चलन छ । नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तै: आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् । उनीहरू वसन्त उत्सवका रूपमा मनाउँछन् । यो वसन्तको महिना फाल्गुनले तपाईँलाई आनन्द थप्नेछ । आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दै छ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् । वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋतुको समय । यो फाल्गुन महिना सबैका लागि लाभकारी रहोस्, शुभ रहोस् । खेतमा गहुँ अब पाक्दै छन् । तराई क्षेत्रमा गहुँका बालाले खेतहरू पहेँल पुर भइसकेका छन् । अब कठ्याङ्ग्रिँदो चिसोले छोट्टाएको समयलाई चिर्दै अब कोइलीको कुहू कुहूले न्यानो अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ । जीवनका अनेक आरोह अवरोहहरूमा उत्साहका रङ्गहरू कतै कम नहोउन् अनेक आशाका रँङ्गीन आयामहरू जोडिँदै जाउन् । अनि मुस्कानले हौसला बढाउँदै लगोस् ।

Like