नौजवानको बेलायती राजकुमारसामु खुसी

Share to:

मिनबहादुर कुँवर/ कास्की, माघ २६,

मुलुकमा नेपाल भ्रमणका क्रममा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी दम्पती यतिखेर पर्यटनको राजधानी पोखरामा छन् । बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनीहरु ब्रिटिस गोर्खामा भर्ती भएका नवप्रवेशी नौजवानसामु शुक्रबार देखा परे । सबैजनाको अभिवादन फर्काउँदै बेलायत राजकुमार दम्पतीले पनि हजारौं प्रतिस्पर्धाको बीचमा भर्तीमा छानिनु उपलब्धि भएको बताउँदै गर्व महसुस गर्न नेपालीलाई आग्रह गरे । यस वर्ष कुल १३ हजार जनाभन्दा बढी युवाले भर्तीका लागि प्रतिस्पर्धा गरेका थिए । तीमध्ये २ सय ७४ जना छानिएका हुन् । पोखरा–१६, दीपस्थित ब्रिटिस क्याम्पमा आयोजित समारोहमा एक्कासि बेलायती राजकुमार दम्पती आँखै अगाडि पाएपछि नयाँ भर्ती भएका २ सय ७४ जना युवा तथा तिनका परिवारका सदस्यले हर्षका आँसु बगाए । उनीहरुले आफ्ना छोरा–नातिलाई बेलायत सरकारको जिम्मा लगाएको भन्दै भविष्य सुनिश्चित हुनेमा उस्तै आशातीत पनि बने । ब्रिटिस गोर्खा भर्तीका लागि छानिएका उनीहरुलाई बेलायती राजकुमार दम्पतीसामु ‘बेलायती राजा चाल्र्स तृतीयप्रति सधैं इमानदार, वफादार र कर्तव्यनिष्ट रही काम गर्ने शपथसहित औपचारिकरुपमा प्रवेश गराइएको हो । सोक्रममा उनीहरुले परेड प्रस्तुत गरे । बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै तिनका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न कुराको जानकारी लिएका थिए । यस्तै, ३८ राज्याभिषेक पदक र दुई दीर्घसेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो । गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी) मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथ सहयोग उपलब्ध गराइएको छ भन्ने’bout पनि राजकुमार दम्पतीले अवलोकन गरे । सोक्रममा बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइलगायत सरिक थिए । सफल हुने २ सय ७४ प्रशिक्षार्थी १ वर्षको छनोट प्रक्रियापछि गोर्खा भर्तीमा सामेल हुने छन् । उनीहरुले बेलायतको क्याटरिकस्थित सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुगी ९ महिने प्रशिक्षणमा सहभागी हुने जनाइएको छ । जिडब्लुटीको आवासीय गृहले सबैभन्दा कमजोर अवस्थामा रहेका २० जना भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवालाई आवास र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । बेलायती राजकुमार दम्पती कास्कीका विभिन्न पर्यटकीय क्षेत्र घुमेर आइतबारमात्र फर्किने कार्यतालिका छ । नेपाल–बेलायतबीच २०० वर्ष पुरानो सम्बन्ध छ । नेपालबाट बर्सेनि ब्रिटिस गोर्खामा भर्ती हुन लालायित हजारौं नेपाली युवाले कठिन परिश्रम गरिरहेका हुन्छन् । बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा नेपाल भ्रमणसमेत हुँदै आएको छ । यसले दुई देशबीच सुमधुर सम्बन्धमा मजबुत पार्न योगदान दिएको पाइन्छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार उनीहरु यतिखेर गाउँको भ्रमणमा छन् । उनले अगाडि भने, ‘उहाँहरुको औपचारिक भ्रमण हैन । व्यक्तिगत तवरले आउनुभएको हो । तैपनि हामीले सुरक्षा प्रदान गरिदिएका छौं । सुरक्षाको व्यवस्थापन सबै नेपाली सेनाले हेरिरहेको छ ।’ सुरक्षास्रोतका अनुसार राजकुमार दम्पती शनिबार पर्यटकीय क्षेत्र घान्द्रुक बास बसेर आइतबारमात्र फर्किने कार्यक्रम छ । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो । राजा चाल्र्सका कान्छा भाइ राजकुमार एडवार्ड हुन् ।

Like