उपेन्द्र यादवद्वारा समाजवादी मोर्चा ‘बहिस्कार’
रासंसा/काठमाण्डौ, माघ ०३,
मुलुकमा समाजवादी मोर्चाको प्रमुख घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि हो। तर, बुधबार बसेको मोर्चाको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भए। जबकि, बैठकमा यादवको प्रतीक्षा थियो। जसपा नेपालका अध्यक्ष यादवलाई बैठकमा आमन्त्रण गर्ने जिम्मा थियो– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई। एकीकृत समाजवादी पार्टीकै केन्द्रीय कार्यालयमा मोर्चाको बैठक बोलाइएको थियो। तर, जसपा नेपालका अध्यक्ष यादवले मोर्चाको बैठक बहिस्कार गरेका थिए। समाजवादी मोर्चाको अर्को घटक नेकपा (विप्लब) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले भने समाजवादी मोर्चामा सामेल हुन जसपा नेपाल सकारात्मक रहेको दाबी गरे। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकपछि प्रकाण्डले भने, ‘उहाँहरू (जसपा नेपाल) का नेताहरूले तत्काल सहभागी हुन नसक्ने भन्नुभएको छ। तर, छलफल सकारात्मक रूपमा अघि बढेको छ।’ मोर्चाको बैठकले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको उनले सुनाए। ‘समाजवादी मोर्चामा हामी थियौं, तर प्रचण्डजीले मित्रघात गर्नुभयो,’ जसपा नेपालका महासचिव रामकुमार शर्माले भने, ‘हामी समाजवादी मोर्चामा रहेकै अवस्थामा प्रचण्डजीले हाम्रो दललाई तोड्ने र फुटाउने काम गर्नुभयो। अब हामी मोर्चामा जान सक्दैनौं, जाने अवस्था पनि छैन। प्रचण्डजी धोकेवाज हुन्।’ प्रचण्डले सत्ताको खेलमा आफ्नो पार्टीलाई फुटाएर कमजोर बनाएको जसपा नेपालको केन्द्रीय समितिकै निष्कर्ष छ। मोर्चामै सम्मलित दललाई विभाजित गरेर सत्ता स्वार्थ पूरा गर्न खोजेको नेता उपेन्द्र यादवको बुझाइ छ। महासचिव शर्मा थप्छन्, ‘हाम्रो पार्टी फुटाएर प्रचण्डजीले हामीलाई समाजवादी मोर्चाबाट बिदा गरिसक्नुभयो। अब त्यहाँ के खान, किन जाने ? जाने पनि अवस्था रहेन।’ यसअघि कांग्रेससहितको सत्ता गठबन्धन टिकाउन प्रचण्डले रणनीतिक रूपमा समाजवादी मोर्चा गठन गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी(महिन्द्र यादव), र नेकपा(बिप्लब) मोर्चामा थिए। उपेन्द्र यादवको पार्टी फुटाएर प्रचण्डले सरकार चलाउन खोजेका थिए। जसपा नेपाल फुटाएर अशोक राईले जसपा गठन गरेका थिए। त्यसको बलमा सत्ताको खेलमा प्रचण्ड टिक्न चाहन्थे। तर, त्यो गठबन्धन लामो टिकेन। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको साथ छोडे। शेरबहादुर देउवा र ओलीबीच नयाँ गठबन्धन भएपछि प्रचण्डको ‘३२ सिटे जादु नम्बर’को चटकले फेल खाएको थियो। त्यसपछि प्रचण्ड आक्रोशित हुँदै आएका छन्। जसपा नेपाल फुटेपछि उपेन्द्र यादव मोर्चाबाट बाहिरिएका हुन्। तर, प्रचण्ड र माधव नेपाल उपेन्द्रलाई फकाएर मोर्चामा फेरि जोड्ने भगीरथ प्रयासमा रहेको मोर्चाका नेताहरूको भनाइ छ। जसपा नेपालका महासचिव शर्माले भने, ‘प्रचण्डले मुखमा राम राम भने पिँठयुमा छुरा रोप्नुभयो भन्ने हाम्रो ठम्याइँ हो। यसको दोषी प्रचण्डजी नै हो। उहाँसँग बस्ने र समाजवादी मोर्चामा रहेर काम गर्ने स्थितिमा जसपा नेपाल छैन।’ प्रचण्डले कहिले केपी ओलीलाई धोका दिए त कहिले शेरबहादुर देउवालाई झुक्याए। काँध फेर्दै, संसदीय शक्तिको गणितीय खेलबाट बहुमत आर्जन गर्दै प्रचण्डले यसअघि १८ महिना सरकार चलाएका थिए। सत्ताको उन्मातमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालमाथि आरा चलाउन पनि प्रचण्डपछि परेनन्। यहीँ प्रकरणबाट उपेन्द्र यादव प्रचण्डबाट टाढिएका थिए। ६ महिनापछि बसेको समाजवादी मोर्चाको बैठकमा प्रचण्डले नेता यादवको उपस्थित खोजेका थिए। माओवादी अध्यक्ष प्रचण्ड दाउपेचको राजनीति गर्ने चतुर अवसरवादी खेलाडी भएको जसपा नेपालले ठहर छ। सरकार ढलेपछि प्रचण्ड शक्तिको आर्जन गर्न सबैतिर हेरफेर गरिरहेको महासचिव शर्माले उल्लेख गरे। जनता समाजवादी पार्टीलाई फुटाएकाबारे प्रचण्डले स्वीकार गरिसकेको शर्मा बताउँछन्। ‘यो कुरा अब गोप्य रहेन। राजनीतिक जीवनमा प्रचण्डले जसपा नेपाललाई फुटाएर जुन ढंगले सत्ताबाट उपेन्द्रजीले निस्किन बाध्य पार्नुभयो त्यो उहाँले राजनीतिक जीवनमा सदाका लागि ब्लन्डर गल्ती गर्नुभयो। ’ ‘प्रचण्डजीले उपेन्द्रजीसँग कुरा गर्न माधवकुमार नेपालजीलाई लगाउनुभएको थियो। तर, समाजवादी मोर्चाबारे हामी क्लियर छौं, मोर्चा त इमान्दारीमा बन्छ। मुद्दामा बन्छ। नीति तथा कार्यक्रमको आधारमा बन्छ’, जनता समाजवादी पार्टी नेपालका तर्फबाट गठित अन्तर पार्टी समन्वय समितिका सदस्यसमेत रहेका शर्मा भन्छन्, ‘जहाँ इमान्दारिता रहेन। मित्रघात गर्दै एकअर्कालाई कमजोर बनाउने काम भयो।’ अनि त्यो मोर्चामा बस्ने स्थिति नरहेको उनी बताउँछन्, ‘यो काम प्रचण्डजीमार्फत भयो । प्रचण्डको गलत कार्यशैली र नियतले मोर्चाभित्रै दुर्घटना भयो। अनि त्यहाँबाट जसपा नेपाल अलग भयो।’ उनका अनुसार एकातिर समाजवादी मोर्चाको नाममा प्रचण्डजीले संसद् र संसद् बाहिर रहेको विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र अर्कोतिर कार्यकर्ता भुल्याउन ६ महिने जनतासँग माओवादी अभियान चलाउने अनि कार्यकर्तालाई भुलाउने खेलमा छन्। शर्मा भन्छन्, ‘त्यसपछि पार्टीको राष्ट्रिय महाधिवेशन गर्दै प्रचण्ड सरकारतर्फ जाने दाउमा रहेको प्रष्ट देखिएको छ।’ ‘बृहत् मधेसवादी मोर्चाको पक्षमा जसपा नेपाल अग्रगामी शक्तिबीच एकता, मोर्चाबन्दी गर्दै संघर्ष गर्ने तयारीमा जसपा नेपाल रहेको छ। उसले मधेसवादी दलहरूबीच बृहत् मोर्चा र कार्य एकताका लागि प्रयास गरिरहेको छ। मधेस आश्रित दलका रूपमा स्थापित हो, जसपा नेपाल। अधिकार, पहिचान, समावेशीता, संघीयता उसको प्रमुख एजेन्डा हो। ‘अब हाम्रो आन्दोलन आफ्नै बलबुतामा गर्नुपर्छ। आफ्नै खुट्टामा उभिएर गर्छौं’, नेता शर्मा भन्छन्, ‘अब हामी धोखा दिने मोर्चाको अलमलमा फस्दैनौं। मुद्दाका र इमानमा क्लियारिटी भएका, विधि र नीतिलाई मानेर संघर्षमा जाने प्रतिबद्ध पार्टीसँग मोर्चा बन्दी हुन्छ।’ समाजवादी मोर्चाको नाममा प्रचण्डको दलदलमा जसपा नेपाल नफस्ने जनाएको छ। प्रचण्ड यथास्थितिवादी शक्ति रहेको बताउँदै जसपा नेपालका महासचिव शर्मा थप्छन्, ‘वर्गको कुरा गर्ने, कार्यकर्ता भुलाउने तर मुद्दा प्रतिइमान्दार नहुने चरित्र प्रचण्डजीको छ। जनतामा जानचाहिँ उहाँ नचाहने अनि घुमाइ फिराइ सरकारको गोलचकरमा बस्ने भन्ने स्वाभावका छन्। महासचिव शर्माका अनुसार पहिचान र संघीयता पक्षधर शक्तिहरूसँग मोर्चा निर्माणका लागि बैठक र छलफल भइरहेको छ। दोस्रो चरणमा मोर्चा बन्दी गर्दै अधिकार र पहिचानको आन्दोलन गरिने शर्माले बताए । विगतमा राज्यसँग भएको ८ बुँदे र २२ बुँदे सम्झौतालाई कार्यान्वन गराउने रणनीतिमा जसपा नेपाल रहेको छ।