माधवको ‘मोह’ समाजवादी मोर्चामा, झलनाथ अझै अलमलमा
रासंसा/काठमाण्डौ, माघ १,
मुलुकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाका नेताहरू समाजवादी मोर्चा पुनः सक्रिय बनाउन आन्तरिक छलफलमा छन् । लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधबारका लागि बोलाइएको छ । उक्त बैठक बस्नुअघि मंगलबार कार्यदलको बैठक बोलाइएको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेकै बेला आफ्नो पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाउँदै मोर्चा छाडेका थिए । हाल यादव नेतृत्वको जसपा नेपालले कांग्रेस र एमाले नेतृत्वको संयुक्त सरकारलाई समर्थन दिइरहेको अवस्था छ । यस्तो बेलामा यादवलाई कसरी मोर्चामा ल्याउने भन्नेबारे प्रचण्ड र नेपालबिच छलफल भएको छ । २०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा भएको थियो । चक्रीय प्रणालीका आधारमा मोर्चाको नेतृत्व फेरिँदै आएको थियो । हाल मोर्चाको संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ भए पनि सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि मोर्चा निष्क्रियजस्तै छ । प्रचण्ड र नेपालबिचको कुराकानीमा यादवलाई मनाउने जिम्मा अध्यक्ष नेपालले लिएका छन् । ‘उपेन्द्रजीसँग म कुरा गर्छु’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग भनेका छन् । सरकारलाई समर्थन गरेको जसपा नेपाललाई फकाउने जिम्मा लिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चालाई सक्रिय बनाएर सरकारविरोधी आन्दोलन चर्काउने प्रयत्नमा छन् । तर नेपालकै पार्टीका सम्मानित नेता झलनाथ खनाल भने समाजवादी मोर्चाको विपक्षमा छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मंसिरमा बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पेस गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ शीर्षकको प्रस्तावमा मोर्चाको कडा विरोध गरेका हुन् । यद्यपि उनको प्रस्ताव पार्टी कमिटीबाट पास नभएको उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् । खनालले विभाजित कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा ‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्नलाई यसअघि नै ‘अपरिपक्व प्रयास’को संज्ञा दिएका छन् । तर नेता खनाल आफूले राखेको प्रस्तावबाट अहिले पनि दायाँबायाँ नभएको भन्दै महाधिवेशनले पारित गरेका नीति, कार्यक्रम र सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्ने बताउँछन् । ‘हाम्रो पार्टीले भर्खर दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । जुन महाधिवेशनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम पारित गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने मुख्य कर्तव्य, काम र कार्यभार हो । यो कार्यभारलाई हामीले ठिक ढंगले अगाडि बढाएकै छैन’, खनालले रातोपाटीसँग भने, ‘केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनले पारित गरेका कार्यनीति र कार्ययोजना कार्यान्वयनमा लैजाउँ भनेर सिङ्गो पार्टीलाई गोलबन्द र जागृत गर्नुपर्छ ।’ समाजवादी मोर्चा बनाउनुको साटो विभिन्न समूहमा विभक्त वामपन्थीलाई साझा सवालमा एक ठाउँ ल्याउनुपर्ने वा वाम एकता निर्माण गर्नुपर्ने पक्षमा खनाल छन् । ‘यी विभाजित वाम समूहलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समयअघि समाजवादी मोर्चा बनाउने प्रयत्न पनि देखाप¥यो’, खनालले आफ्नो प्रस्तावमा विगतलाई स्मरण गर्दै भनेका छन्, ‘त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन ।’ पहिला पार्टी बलियो र एकतावद्ध गरेपछि मात्रै अरु सहयात्री खोज्नुपर्ने खनालको भनाइ छ । ‘यस क्रममा वामपन्थीहरूमा पनि निकटता ल्याउन सकिन्छ’, खनालले भने, ‘र उनीहरूसँग कार्यगत एकता गर्न सकिन्छ तर एकैचोटी समाजवादी मोर्चा भन्नु भनेको सबै साथीभाइसँग समाजवादी कार्यक्रम छ कि छैन ? कार्यदिशा छ कि छैन ? न्यूनतम आधारबारे निर्क्योल नभएको अवस्थामा नाममात्रको समाजवादी मोर्चाले फाइदा गर्दैन ।’ समाजवादी मोर्चा नै बनाउने हो भने पनि सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने खनालको जोड छ । ‘कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ’, नेता खनाल भन्छन्, ‘त्यसैले यतिबेला समाजवादी मोर्चा बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्व भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन ।’ खनालले पार्टीभित्र समेत समाजवादी मोर्चा सक्रिय पार्नेबारे छलफल नभएको बताए । बरु नाममात्रको समाजवादी मोर्चा बनाउनुको साटो सबै प्रतिपक्ष गोलवन्द भएर जानुपर्ने खनालको मत छ । ‘सरकारका दुई पार्टीहरूको अधिनायकत्वका विरुद्ध सबै प्रतिपक्ष एक हुनुपर्ने आवश्यकता देखिन्छ । त्यस्तो काममा पहलकदमी गर्ने, आजका इस्यु उठाउने र सडक तताउने, संसद रन्काउने अहिलेका आवश्यकता हुन्,’ खनालले भने, ‘यस्ता काममा वामपन्थीहरू किन लाग्दैनन् भन्ने आजको यक्ष प्रश्न हो ।’ तर एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा समाजवादी मोर्चा वामपन्थीहरूको साझा चौतारी भएकाले मोर्चामार्फत अघि बढ्ने कुरामा पार्टीमा विमति नरहेको बताउँछन् । ‘सम्मानित नेता खनालले वर्गीय मोर्चा काम लाग्छ । यो राजनीतिक मोर्चा धेरै प्रभावकारी हुँदैन भन्नुभएको हो’, खतिवडाले भने, ‘उहाँले केही सैद्धान्तिकरण पनि गर्नुभएको छ ।’खतिवडाले संसदीय लडाइँमा लागेपछि संसदभित्रको प्रभावकारिता बढाउन विभिन्न राजनीतिक दलसँग सहकार्य अनिवार्य हुने बताए । ‘पार्टी राजनीति र समाजवादको यात्रामा पनि युद्धबाट अगाडि नबढेको पार्टीभित्र हरेक प्रकारका दल र विचारहरूसँग साक्षात्कार गर्दै अगाडि बढ्नुपर्छ’, खतिवडाको भनाइ छ । पहिला मार्क्सवादीहरूले युद्ध जित्ने संयुक्त क्रान्तिकारी मोर्चाको विकास गर्नुपर्छ भन्ने खनालको प्रस्ताव भए पनि त्यो प्रस्ताव महाधिवेशन वा पार्टी कमिटीबाट पारित नभएको खतिवडाले बताए । उनले अहिले मुलुकमा लेफ्ट र राईट गरी दुई एजेण्डा रहेको भन्दै लेफ्टिस्टहरूबाटै लेफ्ट एजेण्डा रेज हुने बताए ।