सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १८१ औं पटक रक्तदान

Share to:

रासंसा/नुवाकोट, पौष २८,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नुवाकोटमा पुगेर १८१औं पटक रक्तदान गर्नुभएको छ । हिजो पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटककाे रक्तदान गर्नुभएको हो । कर्माचार्य नेपालको आपत्‌कालीन रक्तसञ्चारको नामले पनि परिचित हुनुहुन्छ ।
काठमाडौं महानगरपालिका-२८ बागबजारका उहांले रक्तदाताले दिएको रगत बिरामीलाई नि:शुल्क उपलब्ध गराउनु पर्ने बताउँदै आउनुभएको छ । बिभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आउनुभएका कर्माचार्यले यो पटक नुवाकोटको विदुर आएर रक्तदान गर्न पाउँदा निक्कै खुशी लागेकाे बताउनुभएको थियो ।
रक्तदान गर्नु जीवन दान गर्नुजस्तै हो भन्दै सन्देश फैलाइरहनु भएका कर्माचार्य ‘ए पोजेटिभ’ रगत समूहका हुनुहुन्छ ।
रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको उहांको भनाइ छ। नुवाकोटमा पनि केहि सातामै नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोट जिल्ला शाखा गठन गरिने उहांले बताउनुभयो ।
आयोजक संस्थाले पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभएको थियो ।

Like