जनमत पार्टी सत्तारूढ गठबन्धनबाट बाहिरिँदै
रासंसा/काठमाण्डौ, बैशाख २,
मुलुकमा खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले धोका दिएको जनमत पार्टीका नेताको बुझाइ छ। यसबाट बारा २ मा सत्तारूढ गठबन्धनबाटै दुई उम्मेदवार मैदानमा छन्। सत्तारूढ गठबन्धनले यादवलाई जिताउन परिपत्र नै जारी गरेको छ। यसकारण जनमतका अध्यक्ष सिके राउत गठबन्धनसँग चिढिएका छन्। यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय औपचारिक रूपमै गरेकाले जनमतका उम्मेदवारले गठबन्धनबाट सहयोग नपाउने भएका छन्। चैतमा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा पनि आफूहरूलाई गठबन्धनबाट धोका भएको जनमतका नेताहरूको निष्कर्ष छ। उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनमा रहेका दलले जसपाका उम्मेदवारलाई सहयोग गरेका थिए भने जनमतका उम्मेदवारले गठबन्धनमै रहेका दलहरूबाट सहयोग पाएका थिएनन्। जनमतका महासचिव चन्दन सिंहले पछिल्लो समय गठबन्धनबाट असहयोग हुँदै आएकाले उपनिर्वाचनपछि जनमत पार्टीले सत्तारूढ गठबन्धन छाड्ने संकेत गरे। ‘गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा वैशाख १० गतेलगत्तै पछि बैठक गरेर औपचारिक निर्णय गर्छौं,’ सिंहले भने, ‘गठबन्धनमा रहेका दलहरूको व्यवहारबाट हामी खुसी छैनौं।’ जनमत पार्टीका अर्का एक नेताले भने, ‘अहिलेकै अवस्थामा हामी गठबन्धनमा नरहने करिबकरिब निश्चित छ। नेपाली कांग्रेस, माओवादी केन्द्र केही लचिलो भए र हामीले मागेको मन्त्रालय दिन तयार भए भने त्यो बेग्लै कुरा हो,’ ती नेताले भने। महासचिव सिंहले भने जनमत पार्टी पुनः खानेपानी मन्त्रालयमा नफर्किने प्रस्ट पारे। ‘हामीले खानेपानी मन्त्रालय छाडिसकेका छौं। किन फर्कने?’ उनले भने। ‘हामीलाई उद्योग मन्त्रालय दिने सहमति भएको थियो तर अन्तिम समयमा धोका भयो,’ जनमत पार्टीका अर्का एक नेताले भने। ती नेताका अनुसार जनमतलाई उद्योग मन्त्रालय नदिनुमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको छ। सत्तारूढ गठबन्धनमा अहिले १० दल छन्। जनमत गठबन्धनबाट बाहिरियो भने सरकारलाई नौ दलको समर्थन हुनेछ। जनमतले उद्योग मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको थियो तर गठबन्धनमा रहेका दलहरूले जनमतलाई उद्योग मन्त्रालय दिन तयार भएनन्। त्यसलगत्तै खानेपानी मन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानले राजीनामा गरेका थिए। यता उपनिर्वाचनमा यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच टक्कर बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा जसपा र जनमत पार्टीका कार्यकर्ता अहिले एकअर्का पार्टीका उम्मेदवारको विरोधमा गालीगलौजमै उत्रिएका छन्। यादवलाई हराउन राउत केही दिनदेखि बारा २ मै ढुक्कसँग बसेका छन्। सार्वजनिक कार्यक्रममा उनले यादवको चर्को आलोचना गर्ने गरेका छन्। यादव र राउतबीचको लडाइँमा तराई मधेसकेन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने यादवलाई खुलेर सघाउँदै आएको छ। लोसपाबाट बारा २ मा उम्मेदवारी दिने तयारी गरेका राजेन्द्र महतोले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए र यादवलाई सहयोग गर्ने घोषणा गरे। यतिसम्म कि उनले यादवलाई फिरंगी उम्मेदवार भनी आलोचनासमेत गर्दै आएका छन्। यादवलाई सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र रनेकपा एसले साथ दिएका छन्। तरराउतले गठबन्धनलाई बेवास्ता गर्दै यादवको विरोधमा जनमतबाट उम्मेदवारी दिएका छन्। लोसपाले शुक्रबार यादवलाई जिताउन पार्टी कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनारलाई कमान्डर बनाएको छ। सोनारबाराकै हुन्। त्यसले त्यहाँको उनको प्रभाव छ। जबकि करिब एक महिनाअघि जनमत र लोसपाले कार्यगत एकता गर्ने सहमति गरेका थिए। सहमति गरेको एक महिना नबित्दै ती दुई पार्टीबीच कार्यगत एकता भंग भएको छ। बारा २ मा यादव विजयी हुनेमा शंका नभएको बताउँदै उनले भने, ‘गठबन्धनमा रहेका दलहरूले हामीलाई सहयोग गरिरहेका छन् तर उहाँहरू (जनमतका नेताहरू) ले भने हाम्रो विरोधमा उम्मेदवारी दिनुभएको छ।’ जसपाका प्रवक्ता मनीष सुुमनले जनमतका अध्यक्ष राउतले जसपा अध्यक्ष यादवसँग टकराव लिन खोजिरहेको बताउँदै भने, ‘उहाँले किन टक्करलिन खोज्दैै हुनुहुन्छ? हामीले बुझ्न सकेका छैनौं। सायद चर्चाका लागि हुन सक्छ।’ जनमतबाट चुनाव जित्ने गरी बलियो उम्मेदवार नभएको उनको दाबी छ। यता जनमतका महासचिव चन्दन सिंहले बारा २ का जनताले उपेन्द्र यादवलाई हराउने र जनमत पार्टीका उम्मेदवार कुशवाहालाई विजयी गराउने ठोकुवा गरे। ‘बारा २ मा हामी विजयी हुने निश्चित छ। हामी जितको नजिक छौं,’ उनले भने। यादवले सुरुमा सप्तरी २ मा उम्मेदवारी दिने घोषणा गरेका थिए। यादवले घोषणा गरिसकेपछि राउतले पनि सप्तरी २ मै उम्मेदवारी दिने बताएका थिए। चुनावमा राउत विजयी रयादव पराजित भए। पुनः प्रतिनिधिसभामा आउन यादवले बारा २ मा उम्मेदवारी दिएका हुन्। यसका लागि उनले बारा–२ बाट विजयी भएका रामसहाय यादवलाई राष्ट्रपति बनाए। उपनिर्वाचनमा चुनाव जित्न सबैभन्दा सजिलो क्षेत्र बारा २ रहेको विश्लेषण गर्दै उपेन्द्रले उपराष्ट्रपतिमा रामसहायलाई पठाएका हुन्। यादव र राउतबीचको टकराव पहिलो पटक होइन। तरपछिल्लो समय टकराव झन् बढेको हो। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष राउतले जसपाका अध्यक्ष यादवलाई पराजित गरे। तर यादवको प्रयासमा राउतले तगारो बन्ने प्रयास गर्दैछन्। यादवलाई हराउन राउतले केही समयअघि बारामा लोकप्रिय मानिएका माओवादीका नेता शिवचन्द्र कुशवाहलाई आफ्नो पार्टीमा ल्याएका थिए। उनै कुशवाहलाई राउतलाई बारा २ मा उम्मेदवार बनाएका छन्। त्यसैले यादवका लागि कुशवाह चुनौतीपूर्ण उम्मेदवार हुन्। यादव रराउतको टकराव चैत पहिलो साता सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि देखियो। उपराष्ट्रपतिको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध रहेका दलहरूले जसपाका उम्मेदवारलाई साथ दिए तरराउतले जसपाका उम्मेदवारलाई हराउन ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए।