रौतहटको राजदेवीमा भीषण आगलागी
रासंसा/रौतहट, पौष १५,
मुलुकमा रौतहटको राजदेवी नगरपालिकाको एक दलित बस्तीमा भीषण आगलागी भएको छ। गए राति राजदेवी नपा ५ पताहीस्थित दलित बस्तीमा आगलागी हुँदा ७ घर जलेर खरानी भएको छ। अबेर राति भएको आगलागीले रामनाथ पासवान, राम ईश्वर पासवान, बाबुलाल पासवान, नागेन्द्र पासवान, विजय पासवान, दीपेन्द्र पासवान, राम स्वर्गीय पासवानको घर जलेको छ। स्थानीय जगरनाथ पासवानको घरबाट आगो सल्केर टोलमा नै आगोले वितण्डा मच्चाएको पाइएको छ। विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घरसँगै घरमा रहेको लत्ताकपडा गरगहना, खाद्यान्न लगायतको सामग्री पनि खरानी भएको छ। राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मुन्ना यादवले दलित परिवारको विचल्ली भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपेन्द्र रायले आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताएका छन्। गौर नगरपालिकाको दम, स्थानीयवासी तथा प्रहरी प्रशासनको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
