‘भ्रष्टचार गरेर देशलाई बर्बाद पार्न शीर्ष तीन दलको बराबरी दोष’
रासंसा/काठमाण्डौ, पौष १३,
मुलुकमा कांग्रेस, एमाले र माओवादीसहितका ठूला राजनीतिक दललाई पूर्वाग्रह र अतिवादीलाई छाडेर नयाँ सम्झौता गरेर अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको छ। ‘अहिले विशेषगरी सत्तारुढ दल कांग्रेस र एमालेसँगै माओवादी केन्द्रका शीर्ष नेतालाई बाचुन्जेल प्रधानमन्त्री बनाउँदा पनि देशको अवस्थामा कुनै सुधार आउनेवाला छैन,’ केन्द्रीय अध्यक्ष लिङ्देनले शनिबार इटहरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित विज्ञ व्यक्ति मन्त्री नबनाउने हो भने देश थप बर्बादको बाटोतर्फ अघि बढ्नेछ।’ पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्थाबाट देशलाई बर्बाद बनाउन तीनै वटै ठूला दलका शीर्ष नेता मुख्य दोषी भएकाले त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन थालेपछि जनताको आक्रोशले तहसनहस पार्ने हुँदा बेलैमा नवीन सम्झौता गरेर अघि बढ्न आह्वान गरे। उनले प्रदेश खारेजी हुनुपर्ने राजतन्त्रसहितको प्रजातन्त्र र केन्द्रमा संघ तथा तल्लो तहमा बलियो संरचनाका निम्ति सबै दल मिलेर सम्झौता गरेर अघि बढ्नु मात्र अन्तिम विकल्प रहेको जिकिर गरे। ‘देश बर्बाद हुँदा पनि जनता नजाग्ने हो भने देश असफल राष्ट्रमा पर्ने खतरा छ,’ अध्यक्ष लिङ्देनले भने, ‘माथिल्लो निकायदेखि तल्लो निकायसम्म जताततै भ्रष्टाचारले गाजेको छ। सरकारले न्यायालय र अख्तियारमा कारिन्दा नियुक्ति गरेर कारबाहीबाट उन्मुक्ति पाउने गरेको छ।’ ‘हामी जनतामाथिको निराशालाई टुलुटुलु हेरेर बस्न नसकेपछि शान्तिपूर्ण आन्दोलन थाल्याैं, जनताको आन्दोलनले गलत कार्यलाई क्षणभरमा समाप्त पार्नेछ,’ उनले भने, ‘अहिलेका मुख्य दलका नेतालाई विस्थापित गरेर नेपालको मौलिक दर्शन निर्माण गरि राजा पनि अटाउने, माओवादी पनि अटाउने र अन्य सबै दल अटाउने नवीन सम्झौता गरेमा देश सही ढंगले अघि बढाउन सकिनेछ।’ उनले देशलाई बर्बाद पार्ने काममा कांग्रेस, एमाले र माओवादीका नेता बराबर दोषी रहेको जिकिर गरे। उनले एनसेल, वाइडबडी, ललिता निवास र पछिल्लो पटक धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति गर्दा तीनवटै पार्टीका नेताले पैसा लिएको आरोप लगाए। ‘एकाएक परस्पर विरोधी दल त्यसमा पनि ठूला दल मिलेर सरकार बनाउँदा अपवादमा विगतमा भएको कमी कमजोरीप्रति आत्मा आलोचना गरेर केही गर्लान् कि भन्ने झिनो आस थियो,’ नेता लिङ्देनले भने, ‘पछिल्लो पटक भ्रष्टाचार निवारण सम्बन्धी विधेयक ल्याउँदा त कुनै पनि पदाधिकारीले आफ्नो जिम्मेवारीबाट हटेको पाँच वर्षपछि मुद्दा चलाउन नपाउने भनेर हदम्याद तोके, यसबाटै प्रस्टै उनीहरूको नियत बाचुन्जेल केही नहोस्।’ ‘पछिल्लो पटक वाइडबडी काण्डमा केही कर्मचारी र केही व्यक्तिलाई दोष ठहर गरि जेल सजाय तोकिएको छ,’ उनले भने, ‘नेता र मन्त्रीले नखाईकन कसरी तलको मान्छेले खान्छ ?’ उनले परस्पर विरोधी पार्टी मिलेर सरकार बनाउनुमा पनि अहिले बचेको स्रोत साधन सिध्याउनका लागि भएको जिकिर गरे। सोही विरोध सभामा अर्का नेता डाक्टर प्रकाशचन्द्र लोहनीले राष्ट्रको सिकार गर्ने नेतालाई जनताले ठिक लगाउनुपर्ने बताए। ‘हाम्रो देश नेपाल पैसा नभएर विकास नभएको होइन, इमानको कमी र बेइमानको बाहुल्यता अनि नियतको खोट र निष्ठाको अभाव भएर विकास नभएको हो।’ कार्यक्रममा राप्रपाका महामन्त्री प्रल्लाद साहले अहिलेको अवस्था परिवर्तन गर्न आन्दोलनबाट मात्र सम्भव भएकाले गर्दा सम्पूर्णलाई संगठीत भएर लाग्न आह्वान गरे। राप्रपा नेपालले शनिबार कोशी प्रदेशबाट थालेको विरोध सभा सातवटै प्रदेशमा गरेर केन्द्रीय विरोध सभा गर्ने जनायो। उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई विदेशी बैंकमा पैसा राखेको छैन ? भनेर संसद्मा बोल्ने हिम्मत नभएको बताए। ‘यदि हिम्मत छ भने तीन जना नेताले संसद्मा विदेशी बैंकमा हाम्रो पैसा छैन भनेर बोलेर देखाउन त ?’ उनले भने, ‘अहिले प्रजातन्त्रका नाममा प्रजातन्त्रलाई समाप्त पार्ने काम भइरहेको छ।’ उनले जनताले दिएको विश्वासको दुरुपयोग भएपछि प्रजातन्त्रलाई समाप्त पार्ने काम भएको बताए।